चितवन : गत असोज २ गते भरतपुर महानगरले मापदण्ड विपरितका भोगचलन गरी निर्माण भएका संरचनाहरुमा डोजर चलायो।
महानगरले डोजर चलाउँदा धनजनको क्षति नपुग्ने गरी भत्काउने नीतिअनुसार सम्बन्धित घरधनीलाई एक हप्ताको समय सीमा दियो।
दशैँ सकिए लगतै पुंगी खोला क्षेत्रमा पर्ने संरचना धमाधम घरधनीहरुले भत्काउन थालेका छन्। नारायणगढको लायन्स क्लबको पाँचतले भवन अहिले घरधनीहरुले भत्काइरहेका छन्। कामदारहरुले ट्रष्ट निकालेर ढलान फुटाउने काम गरिरहेका छन्।
महानगरले पुंगी खोला सौन्दर्यकरण अभियानअन्तर्गत लायन्स भवनबाट डोजर चलाउन सुरु गरेको थियो। यो भवन सामाजिक संस्था लायन्स क्लब अफ नारायणगढले ३० वर्षअघि निर्माण गरेको थियो।
नारायणगढ ओरालो सकिने स्थानमा रहेको भवन पुङ्गी खोलाको ८० प्रतिशत भाग र सडकको २० प्रतिशत भागको जग्गा ओगटेर निर्माण गरिएको थियो।
भरतपुर महानगरपालिकाका इन्जिनियर सूर्य लामाले लयान्स भवन लगायत अन्य भवनहरु क्रमश घरधनी आफैँले भत्काउन सुरु गरेको जानकारी दिनुभयो।
अतिक्रमित संरचना हटाउन पटक पटकको सूचनामा भइसकेकाले आफै संरचना भत्काउन अनुरोध गरिएको उहाँले बताउनुभयो। घरधनीले अटेरी गरी संरचना नभत्काए महानगरको ऐन कानुनअनुसार जरिवाना लिइने उहाँको भनाइ छ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले पुंगी खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको उल्लेख गर्नुभयो । पुंगी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ।
‘अहिले घरधनीहरुले मापदण्ड विपरितका संरचना आफै भत्काइ रहनु भएको छ’,उहाँले भन्नुभयो,‘ यो खुसीको विषय हो। महानगरपालिका बल प्रयोग गरेर भत्काउने पक्षमा छैन। अटेर गरे बल प्रयोग गर्न बाध्य हुनेछौँ।’
महानगरपालिकाले मापदण्ड विपरितका संरचना भत्काउने र सँग सँगै सौन्दर्यकरणको कार्य पनि अघि बढाएको छ।