काठमाडौँ : यसवर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू–भागका साथै काठमाडाँै उपत्यकाबाट पनि बाहिरिएको छ ।
रोज
महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भू–भाग र मधेश प्रदेशका पश्चिमी भू–भागका थोरै स्थानहरूबाट पनि मनसुन बहिर्गमन भएको छ ।
हाल कोशी प्रदेशलगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । यता गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत मधेश प्रदेश र बागमती प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
आज कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आज कोशी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको पनि जनाइएको छ ।
नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट असोज २० गते यस वर्षको मनसुन बहिर्गमन भएको थियो ।
यसवर्षको मनसुन गत जेठ २८ गते नेपालमा भित्रिएको थियो । यसवर्षको मनसुनले ठूलो जनधनको क्षति गराएको छ ।