काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताधारी दुई ठूला राजनीतिक दलको एजेण्ड संविधान संसोधन नभएको बताउनुभएको छ ।
अध्यक्ष दाहालले कांग्रेस–एमाललेले देखाउँदा संविधान संसोधनको एजेन्डा देखाइए पनि भित्र सत्ता स्वार्थ लुकेको जिकिर गर्नुभएको छ ।
संविधान निगरानी समूहको आयोजनामा संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता विषयक काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई मुख्य वक्ताका रुपमा सम्बोधनका क्रममा अध्यक्ष दाहालले प्रश्न गर्दै भन्नुभयो, “यदी संविधान संसोधनको विषय प्राथमिकतामा थियो भने शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता नेतासँग संसोधनको बारेमा छलफल गर्न हुँदैन थियो त ?”
उहाँले कांग्रेस–एमालेले अप्राकृतिक तरिकाले आफ्नै पार्टीलाई पनि थाहा नदिइ सम्झौता गरिएको र जे गरिएको थियो धेरै समयसम्म लुकाइएको पनि दावी गर्नुभयो ।

उहाँले थप्नुभयो, “संविधान संसोधन बहाना मात्रै हो, सत्ता स्वार्थका लागि जुन तरिकाले संविधानलाई हतियार बनाउन खोज्नुभएको छ । यहाँ इमान्दारिता र पारदर्शीता छैन ।” उहाँले माओवादी संविधान संसोधनको विरोधी भने नभएको दावी गर्नुभयो ।
अध्यक्ष दाहालले प्रचण्डलाई के गरेर घेरा हाल्ने होला भन्ने प्रवृत्ति कायमै रहेको बताउँदै संविधान राम्रोसँग कार्यान्वयन हुनै नपाएको अवस्थामा पहिले संविधान के कारण कार्यान्वयन भयो र के कारण भएन भनेर लेखाजोखा गर्न जरुरी रहेको बताउनुभयो ।
संविधान कार्यान्वयनमा समस्या देखियो भने संसोधन गर्ने हो तर कार्यान्वयन नै नगरी संसोधन गर्न खोज्नु गलत भएको पनि उहाँले बताउनुभयो । त्यसका लागि पनि राजनीतिक दल, नागरिक समाजको बीचमा छलफल गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
“परिस्थिति जटिल छ, सहज छैन । सम्झौता गरेर बनाएको संविधान हो, शान्ति सम्झौताको अंग पनि हो, त्यसकारण संविधान संसोधनसँग सम्बन्धित कुरामा शान्ति सम्झौतामा पनि विचार गर्नुपर्ने हुन्छ । शान्तिप्रक्रियाका बाँकी कामका बारेमा पनि विचार गर्नुपर्छ”, अध्यक्ष दाहालले थप्नुभयो ।
संघीय निजामती ऐनलाई संसदसम्म पुर्याउन आफू सरकार हुँदा धेरै बैठक राखेको दावी गर्दै उहाँले ब्यूरोक्रमेसी र राजनीतिक नेतृत्वको माइन्डसेट जसरी पनि संविधान कार्यान्वयनतिर होइन कसरी कमजोर पार्न सकिन्छ भन्ने मै रहेको पनि आरोप लगाउनुभयो ।
आफूले युद्धको नेतृत्व गरेर जोखिम उठाउँदै संविधानको पनि नेतृत्व गरेको उल्लेख गर्दै उहाँले यदी त्यसो हुँदैनथ्यो भने शान्ति सम्झौता यो स्थितिमा नआउने दावी गर्नुभयो ।
आफूलाई समावेसी र समानुपातिक प्रतिनिधित्वका लागि भूमिका खेल्ने अवसर प्राप्त भएको बताउँदै उहाँले शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ताको रुपमा शान्ति र संविधानको नेतृत्व लिएकोमा आफूलाई गर्व रहेको बताउनुभयो ।
संविधान शक्ति सन्तुलनकै दस्ताबेजका रुपमा आउने बताउँदै उहाँले देशमा जस्तो राजनीतिक शक्ति सन्तुलन थियो सोही आधारको सम्झौताको दस्तावेज बनाएर विधिसम्मत रुपमा पारित गरिएको बताउनुभयो । उहाँले नेपालको संविधान नेपाली जनताको संविधान भएको पनि बताउनुभयो ।