काठमाडौँ : दोलखाको जिरी प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। त्यही नेपालको ऐतिहासिक र पर्यटकीय क्षेत्र जिरीको सौन्दर्यलाई प्रवद्र्धन गर्न काठमाडौँमा आयोजना भएको ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी जिरीको पहिचान देशभर फैलाउँदै सकिएको छ ।
जिरीको सांस्कृतिक र भौगोलिक विविधतासँग परिचित गराउने र सौन्दर्यलाई उजागर गर्ने उद्देश्यसहित यो प्रदर्शनीको आयोजना गरिएको थियो । समय थप गरी भदौ २८ गतेदेखि सुरु भएको प्रदर्शनी असोज १ गतेसम्म आयोजना गरिएको उक्त प्रदर्शनीमा कला पारखीलगायत राजनीतिज्ञले चासो पूर्वक अवलोकन गर्नुभएको थियो ।
नेपालको स्विटजरल्याण्ड भनेर चिनिन्छ जिरी । यहाँको प्राकृतिक सौन्दर्य, जनजीवन, संस्कृति, वास्तुकला र सम्पदालाई कलाकारहरुले क्यानभासमा सजाएका थिए । नेपालका कलाकारले बनाएको ३६ कलाकृति यहाँ प्रदर्शन गरिएको थियो । जिरीको भेषभुषा, संस्कृति, रहनसहनका साथै मुहारचित्रहरु समेत कलाकारले क्यान्भासमा उतारेर ल्याएका थिए । ती चित्रहरु नै यहाँ प्रदर्शन गरिएको थियो ।

प्रदर्शनीमा कलाकार केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पालीका सिर्जना समावेश थियो । कलाकारले एक्रेलिक र जलरङ (वाटर कलर)को प्रयोग गरी चित्र सृजना गर्नुभएको छ ।
सो क्रममा कला कार्यशाला समेत भएको र कला अवलोकनमा राम्रो चासो रहेको पाइएकाले देशभर जिरीका बारेमा रकारात्मक सन्देश दिएको महसुस भएको कार्यशाला र प्रदर्शनीमा कलाकारको संयोजन गर्नुभएका केशवराज खनालले बताउनुभयो। प्रदर्शनी बानेश्वरमा आयोजना गरिएको थियो ।



