काठमाडौँ, २२ भदौ : धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि आज गणेश चतुर्थी पर्वका अवसरमा उपत्यकाका पाँच गणेशको दर्शन र पूजा यात्रा सम्पन्न भएको छ ।
धिमे बाजा र नाचगानसहित विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा आज उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का पाँच विनायकको दर्शन तथा पूजा यात्रा गरिएको हो । सहारा महिला समाजको आयोजना तथा गोल्डेन आई ग्रुपको यात्रा व्यवस्थापनमा भएको कार्यक्रममा उपत्यकाका २०० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता थियो ।
भिडियो यहाँ हेर्नुहोस्
आज विहान काठमाडौँको काष्ठमण्डपसँगै रहेकोे अशोकविनायक (मरु गणेश) बाट सुरु भएको यात्रा चोभारको जलविनायक, ललितपुरको बुङ्मतीस्थित कार्यविनायक, भक्तपुरको सूर्यविनायक र कमलविनायकको दर्शन तथा पूजा आराधना गरी धार्मिक यात्रा आज साँझ सम्पन्न गरिएको यात्रा व्यवस्थापक गोल्डेन आइ ग्रुपका अध्यक्ष अरुण सिलवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार १५ वर्ष अघिदेखि शुरु भएको उक्त ५ गणेश दर्शन पूजा यात्रा हरेक वर्ष जारी राखिएको छ । सिलवालले सुरुमा व्यक्ति व्यक्ति मिलेर र ट्राभल एजेन्सीहरुबाट सुरु गरिएको उक्त धार्मिक यात्रामा अहिले विभिन्न सामाजिक संघसंस्था नै जोडिएर एउटा पर्वकै रुपमा विकास भएको जानकारी दिनुभयो । सुरुवाती चरणमा १५ वर्ष अघि सिलवाल, भूपेन्द्रराम श्रेष्ठलगायतका प्रतिनिधिहरुबाट यात्रा थालिएको थियो ।

“यसको मुख्य उद्देश्य भनेको सांस्कृतिक र धार्मिक पर्यटन प्रवद्र्धन गर्नु हो, त्यसमाथि सबैभन्दा पहिले पूजा हुने गणेश भगवानको पूजा आराधना पनि गर्न पाइने हुँदा भक्तजनहरुको सहभागिता हरेक वर्ष बढ्दो छ”, सिलवालले भन्नुभयो ।
कार्यक्रममा हरेक विनायकमा धिमेबाजा बजाएर नाजगान गर्दै विनायकको दर्शन र पूजा गरिएको थियो ।

आजको गणेश चतुर्थी पर्व, सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ ।
यात्रामा सहभागी हरिन्द्रराज घिमिरेले यसरी धार्मिक यात्रा आयोजना हुँदा नेपालको मौलिक संस्कृति संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै सहभागी हुँदा आफूलाई पनि सन्तोष मिल्ने बताउनुभयो ।

अर्काे भिडियो