काठमाडौँ । चुच्चेपाटीस्थित एभरेष्ट बचत तथा ऋण सहकारीको रकम हिनामिना गर्ने सहकारीका उपाध्यक्ष सहित ५ पदाधिकारी पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको टोलीले सहकारीका उपाध्यक्ष ३९ वर्षका बविता डंगोल, सचिव ५७ वर्षका कान्छाभाई डंगोल, कोषाध्यक्ष ३७ वर्षका विष्णुप्रसाद फुँयाल र सदस्यहरु ४८ वर्षका रामलाल महर्जन र ४६ वर्षका अमरभाइ बज्राचार्यलाई पक्राउ गरेको हो ।
उनीहरुमाथि सहकारी नै बन्द गरेर बचतकर्ताहरुको १५ करोड ९१ लाख ४ हजार ७३६ रुपैंया रकम अपचनल गरेको आरोप रहेको सीआइबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
सहकारी सञ्चालक र कर्मचारीहरुले बचतकर्तालाई आकर्षक ब्याजदर दिने प्रलोभनमा पारी सहकारी मुद्दती निक्षेप, आवधिक बचत, शेयर ततथा विभिन्न बचत खातामा रकम जम्मा गर्न लगाएका थिए ।
मासिक, त्रैमासिक, वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि बचतको सम्पुर्ण साँवा, ब्याज फिर्ता पाउने भनिएपनि साँवा व्याज फिर्ता नदिएको पाईएको छ । बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन पटक पटक पहल गरेपनि आवश्यक पहल नगरी उनीहरुले कार्यालय बन्द गरी बचतकर्ताको रकम हिनामिना गरेका थिए ।
सिआइबीले एभरट्रष्ट सहकारी र यसका शाखाहरुबाट पीडित बचतकर्तालाई ब्यूरोमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ । पक्राउ परेका पाँचै जनामाथि ठगी सम्बन्धि कसुरमा जिल्ला अदालतबाट ८ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।