काठमाडौँ : सरकार र राजनीतिक दलका नेताहरूविरुद्ध आज काठमाडौँको टुँडिखेलमा भएको सार्वजनिक कार्यक्रममै नाराबाजी लागेको छ । गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवा र नेताहरूविरुद्ध नाराबाजी भएको हो । यती ठूलो साँस्कृतिक कार्यक्रममा नेताहरुविरुद्ध नाराबाजी लाग्नु स्वभाविक होइन ।
प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली र विशिष्ट अतिथि सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दुवैले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेको कार्यक्रममा दर्शकदीर्घाबाट देश छोडसम्मका नारा नारा लागेको हो।
अर्को कार्यक्रममा जानुपर्ने भन्दै पहिला बोलेर प्रधानमन्त्री ओली निस्किए। ओलीले मन्तव्य सुरु गरे लगत्तै कार्यक्रममा उपस्थित दर्शकले नाराबाजी र होहल्ला सुरु गरे। ओलीले छोटो मन्तव्य राखे, तर आक्रोशित भीडप्रति असन्तुष्टि जनाए। नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने ओलीले झटारो हाने।
सधैँजसो निकै लामो भाषण दिने प्रधानमन्त्री ओलीले सोमवार होहल्ला र नाराबाजीका कारण कार्यक्रममा लामो बोलेनन्। कार्यक्रममा कांग्रेस सभापति देउवा बोल्ने बेलामा पनि भीडले नाराबाजी गर्न छोडेनन्। मञ्चमा आउने बित्तिकै होहल्ला र नाराबाजी सुरु भएपछि देउवा कार्यक्रम बिथोल्ने ‘लाज नभएकाहरू’ भनेर जङ्गिए।
अरूको कार्यक्रम बिथोल्नेहरूलाई जनताले ठिक पार्नुपर्ने देउवाको भनाई थियो। नेताहरूले बोलिरहँदा पर्व मनाउने भीडले भने नाराबाजी र होहल्ला गरिरहेका थिए। भिडले आफूहरूलाई नेताहरू नचाहिने भन्दै मुर्दावादको नारा लगाए। नाराबाजीकै बीच नेताहरूले भने देउडा गाउँदै पर्व मनाए।
वर्तमान सरकार बनेको एक महिना मात्रै पुगेको छ। संसद्का दुई ठुला दल मिलेर सरकार चलाएका छन्। हालसम्म न्यूनतम साझा कार्यक्रम समेत सार्वजनिक गर्न नसकेको सरकारका प्रधानमन्त्री र उपप्रधानमन्त्री भने भवन र पार्क उद्घाटनमा रमाइरहेका छन्।