काठमाडौँ । गृह मन्त्रालयको विपद् हेर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम विज्ञान विभागमार्फत उच्च जोखिम भनेर सार्वजनिक गरेको जिल्लामा यही साउन २२ र २३ गते रात्रिकालिन बस नचलाउन अनुरोध गरेको छ ।
भारी वर्षा र अति भारी वर्षा हुनसक्ने र यसले पाँचवटा प्रदेशका विभिन्न जिल्लाहरु उच्च जोखिममा रहने प्रक्षेपण भइसकेको सन्दर्भ जोड्दै प्राधिकरणले उच्च जोखिम भनेर तोकिएका जिल्लाहरुमा रात्री बस नचलाउन आज विशेष सूचना जारी गरी अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले भारी वर्षाले साउन २२ र २३ गते कोशी प्रदेशका ताप्लेजुङ्ग, पाँचथर, संखुवासभा, तेह्रथुम तथा बागमती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ्ग, नुवाकोट, दोलखा उच्च जोखिममा रहेको जनाएको छ ।
त्यसैगरी गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ्ग, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ्ग, गोरखा तथा लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ्ग, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम उच्च जोखिममा परेका जिल्ला हुन् । त्यस्तै सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी उच्च जोखिममा रहेका छन् ।
उक्त जिल्लाहरुमा अति भारी वर्षाका कारण विपद्का घटना बढ्न सक्ने हुनाले सम्बन्धित सरोकारवालाहरुलाई प्राधिकरणले विशेष सूचना जारी गरी सावधानी अपनाउन अनुरोध गरिएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो ।
प्राधिकरणले जारी गरेको सात बुँदे सतर्कतासम्बन्धी सूचनामा ती जिल्लामा रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न रात्रिकालीन बस नचलाउन, भारी वर्षा र अति भारी वर्षा हुन सक्ने जिल्लामा विपद्को जोखिममा रहेका मानिसहरुलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न भनिएको छ ।
यस्तै जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्यका लागि विपद्सम्बन्धी काम गर्ने साझेदार संस्थाहरुलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहन अनुरोध गरिएको छ ।
भारी वर्षा हुने प्रक्षेपण गरिएका जिल्लाहरुमा जुनसुकै बेला विपद् आउन सक्ने हुनाले खोज तथा उद्धारका लागि ती जिल्लाहरुका तीनवटै सुरक्षा निकायहरु तयारी अवस्थामा रहन,भारी वर्षाको अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दाहरु चनाखो रहन तथा सुरक्षा निकाय, एम्बुलेन्सलगायतका जरुरी टेलिफोन नम्बरहरु राखी आपत परे तुरुन्तै फोन गर्न र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान अनुरोध गरिएको छ ।
