काठमाडौँ । बंगलादेशमा आरक्षणको विषयलाई लिएर हिंसा भड्किएपछि नेपालले पनि आफ्नो सुरक्ष व्यवस्था कडाइ गर्नुका साथै सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ ।
गृह मन्त्रालयको निर्देशन अनुसार असम्बन्धित र विदेशी नागरिकहरुको घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्ने हुँदा त्यसलाई ध्यानमा राखेर सीमा क्षेत्र र अन्तरराष्ट्रिय मार्गहरुमा उच्च निगरानी बढाइएको हो ।
केन्द्रीय सुरक्षा समितिको बैंठकको निर्देशन बमोजिम आवश्यकताका आधारमा जनशक्ति समेत बढाएर सुरक्षालाई मजबुद गराइएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले परिस्थितिको मूल्याङकनसहित उच्च निगरानी र सतर्कता बढाइएको जानकारी गराएको छ ।
हाल तैनाथ गरिएको सुरक्षाकर्मीसँगै थप बल परिचालन गरी सुरक्षा व्यवस्था चुस्त बनाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घटनाहरु नहोस्, विदेशी मानिसहरु जथाभावी प्रवेश हुन नपाओस् भनेर सुरक्षा निगरानी र सतर्कता बढाइएका छौँ ।”
उहाँका अनुसार विमानस्थल तथा देश भित्रिनै र बाहिरिने नाकाका साथै विशेष गरी तराइ र भारतीय सीमा क्षेत्रमा सुरक्षाकर्मीलाई चुस्त रहन र सम्भावित जोखिम आँकलन गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन समेत दिइएको छ ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, नायब महानिरीक्षक कुमार न्यौपानेले अन्यत्र मुलुकबाट मानिसहरु घुसपैठ हुन सक्छन् भनेर सीमामा क्षेत्रमा जनशक्ति नै थप गरी सुरक्षा तैनाथी बढाइएको र उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो ।
बंगलादेशमा प्रदर्शन जारी रहँदा आजमात्रै प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुभई देश छाड्नुभएको छ ।