काठमाडौँ, १९ गते ।
नेपाल–युरोपेली सङ्घबिचको मित्रता ५० वर्ष पुगेको अवसरमा नेपाल स्थित युरोपेली सङ्घको दूतावासले विविध कार्यक्रम गर्न थालेको छ ।
सो अवसरमा फोटाग्राफीमार्फत मित्रता शिर्षकमा फोटो प्रदर्शनी काठमाडौँमा सुरु गरेको छ । बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुक्रबारदेखि सुरु भएको फोटो प्रदर्शनीको उद्घाटन कार्यक्रममा राजदूत भेरोनिक लरेञ्जोले नेपाल–युरोपेली सङ्घबिचको सम्बन्ध दर्शाउने माध्यमका रुपमा फोटो प्रदर्शनी रहेको औँल्याउनु भयो ।
दुई पक्षबिचको मित्रतासँगै जनसम्बन्धको भाव फोटो प्रदशर्नीले बोलेको उहाँले बताउनुभयो । नेपालको सुदुरपश्चिमदेखि मधेश प्रदेशसम्मको कथा फोटो प्रदर्शनीले देखाउन सफल रहेको दाबी उहाँले गर्नुभयो । नेपालसँगको विकास साझेदारीसँगै मित्रता प्रगाढ बनाउन साथै अघि बढुने. चाहनाको प्रतिफल नै प्रदर्शनी रहेको पनि उहाँले प्रष्ट पार्नुभयो ।

नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागरसमशेर जबराले नेपाल र युरोपेली सङ्घको सम्बन्ध इतिहासदेखि नै निकट रहेको सुनाउनुभयो । ऐतिहासिक सन् १८५१ मा नेपालका तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत र फ्रान्सको भ्रमण गर्नु भएसँगै नेपालको विश्व सम्बन्ध युरोपबाटै सुरु भएको स्मरण उहाँले गर्नुभयो ।
त्यसपछि फ्रान्सका अध्यता साल्भियन लेभीले सन् १९६२ र इटलीका गसेप टक्कसीले सन् १९५२ मा नेपाल आएर यहाँको सामाजिक सांस्कृतिक इतिहासको अध्ययन गर्दै नेपाल उजिल्याउने काम गर्नु भएको राणाले प्रष्ट पार्नुभयो ।
सन् १९६२ मा नेपाल आर्ट काउन्सिल स्थापना भएदेखि नै विश्वको आधुनिक कला प्रवद्र्धन थालेको राणाले जानकारी दिनुभयो । जस अनुसार युरोप लगायत अन्तराष्ट्रिय क्षेत्रका विश्वविख्यात कलाकारका दुई सयभन्दा बढी कला प्रदर्शनी आर्ट काउन्सिलमा भएका छन् ।

काउन्सिलमा सुरु भएको नेपाल झल्काउने फोटोहरु विभिन्न चार फरक कथाहरुमा रहेका छन् । ति कथाहरु फोटोग्राफी प्रतियोगितामार्फत छनोट गरिएको राजदूत लरेञ्जोले जानकारी दिनुभयो । फोटो प्रतियोगिताका लागि गरिएको आव्हानमार्फत नेपालका युवापुस्ताको प्रतिभा प्रस्फुटन गराउँदै देशका विभिन्न भूगोलका कथा ल्याउन हौसला प्रदान गरिएको थियो ।
सो फोटो कथाहरुमध्ये इसान तिवारीको फोटो कथाले प्रथम स्थान हासिल गर्न सफल भएको घोषणा राजदूत लरेन्जोले गर्नुभयो । तिवारीले सहयात्रा शीर्षकमा मधेशको बालबालिकामा शिक्षाको पहुँचलाई लिएर फोटो खिच्न मधेश प्रदेशको बारा र रौतहट पुग्नु भएको थियो ।
मधेशका बालबालिकाहरुको विद्यालय, घर तथा समुदायमा भएका रोचक गतिविधिहरुलाई फोटोमा कैद गर्नु भएको थियो । जसमा उनीहरुको रहनसहन, खेलकुद, विद्यालय अध्ययन, सामाजिक गतिविधिलाई समावेश गरिएको थियो । फोटो अवलोकन गर्ने दर्शकहरु प्राय सबैले आफ्नो बालापन स्मरण गरेका थिए । मधेशको कमजोर आर्थिक, सामाजिक अवस्थाका बालबालिकाले शिक्षा पाउँदाको खुशी उनीहरुको मुहारबाटै झल्किन्थ्यो ।

त्यस्तै अन्य तीन उत्कृष्ट फोटो कथाहरुमा रविक उपाध्यायले नेपाली महिलाको मितिनी चलनलाई प्राथमिकता दिनु भएको छ ।
उहाँले नेपाली महिलाले आफ्नो परिवारपछि अर्को नजिकको सहयात्रीका रुपमा मितिनी सम्बन्ध अपनाउने गरेको बताउनुभयो । उहाँले भन्नु भएजस्तै उहाँका फोटोहरुले बाल्यकालमा जोडिएको मितिनी सम्बन्ध जीवनको उत्तरार्धसम्म पनि उत्तिकै सौहार्दमय रहने गरेको दर्शाउछ । साना ठूला सुखदुखका साक्षी र सहयोगी भूमिकामा नेपालका मितिनीहरुले आफुनो परिवारलाई सघाउने गरेको दृष्यहरुले मन छुन्थ्यो ।
उत्कृष्ट मध्येका एक शुशिल विश्वकर्माले तृष्णा शीर्षकमा फोटो कथा बनाउनु भएको छ ।

जसमा उहाँले जाजरकोटको कुदु गाउँको पानीको कथालाई फोटोमा उतार्नु भएको छ । तल भेरी नदी कलकल बगिरहेको छ । तर गाउँमा खानेपानीको चर्को अभाव छ । त्यो अभावलाई पूर्ति गर्दै पानीको बचथ र सरसफाईलाई ध्यान दिन त्यहाँ नेपाल, युरोपेली सङ्घ र फिनल्याण्डको सहकार्यमा suswa परियोजना सञ्चालन गरिएको छ । त्यसलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषय फोटो कथाले छुन खोजेको छ ।
त्यस्तै आकृति श्रेष्ठले मधेशममा प्लाष्टिक बोतलको पुर्नप्रयोगको विषयालाई कुर्था स्क्सप्रेस शीर्षकमा फोटो कथामा प्रस्तुत गर्नु भएको छ । फोहरबाट संकलन गरिएका ति बोतलहरु त्यहाँका बासिन्दाको आम्दानीको स्रोत बनेको छ । जसले वातावरणीय प्रदूषण कम गर्दै सन्तुलनमा राख्न सघाएको छ । साथै फोहरबाट मोहर कमाएर आर्थिक पाटोलाई कसरी मधेशका समुदायले अङ्गालेका छन् भन्ने कथा उहाँको फोटोहरुले देखाउँछ ।

फोटो प्रतियोगिताका लागि विकास रौनियार रम्यता लिम्बुसहितका बरिष्ट फोटोपत्रकार जुरीका रुपमा तोकिएका थिए । उहाँहरुले फोटोको भाव र कथाको आधारमा निर्णय गर्नु भएको थियो । फोटो प्रदर्शनी साउन ३२ सम्म चल्ने जनाइएको छ ।







