काठमाडौँ । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकण विभागले राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्ने स्पष्ट पारेको छ ।
सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र ईकाई रहेका सबै कार्यालयहरुलाई परिपत्र गर्दै विभागले त्यसरी फोटो खिच्दा सिन्दुर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने उल्लेख गरिएको छ ।
विभागका महानिर्देशक युवराज कटेलले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन पनि मातहतका सबै कार्यालयहरुलाई निर्देश गरिएको जानकारी दिनुभयो ।
उहाँले पठाउनुभएको ४ बुँदे परिपत्रमा राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेश गरेको नागरिकताको प्रमाणपत्रबाहेकको अन्य कागजातहरू राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरी प्रविष्ट गर्ने प्रयोजनको लागि सम्भव भएसम्म सक्कल वा छायाँप्रतिमा सम्बन्धित व्यक्तिले सक्कल बमोजिम नक्कल ठिक छ भनि प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडि बढाउन भनिएको छ ।
यस्तै व्यक्तिको नागरिकतामा केही विवरणहरू स्पष्ट नभएको खण्डमा अभिलेखबाट समेत रुजु गरी विवरण दर्ताको व्यवस्था मिलाउन पनि भनिएको छ ।
‘तहाँ कार्यालयमा अन्य जिल्लाका नागरिकहरूले समेत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न आवेदन पेश गरेमा विवरण दर्ताको व्यवस्था मिलाउने, परिपत्रमा उल्लेख छ ।
