काठमाडौँ : विपद् उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले शुक्रवार देशका विभिन्न क्षेत्रबाट बेपत्ता भएका ४ जनाको शव निकालेको छ भने बाढीमा फसेका ५ जनालाई सकुशल उद्धार गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँका अनुसार कास्की, मुस्ताङबाट बेपत्ता ४ शव निकालेको हो भने कैलालीबाट ५ जनाको सकुशल उद्धार गरेको हो ।
सशस्त्रका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले अहिले पनि देशका विभिन्न जिल्लामा गोताखोरसहितका विपद उद्धार टोली परिचालन गरी आवश्यक उद्धार तथा खोजी कार्य जारी राखेको जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँका अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना र मुस्ताङमा माटोको ढिस्कोमा पुरिएका दुई गरी ४ जनाको शव आज निकालिएको हो ।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणबाट गएको गोताखोरसहितको टोलीले शव फेला पारेको हो । यसैगरी मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–५ धुम्वा तालस्थित नाली बनाउने ट्रयाक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका दुई जनाको आजै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा शव निकालिएको छ।
सो घटानबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्मबाट खटिएको सुरक्षा फौज खोजी कार्यमा जुटेको थियो ।
यता वर्षासँगै मोहना नदीमा आएको बाढीमा फसेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१८ नोक्लिपुरबाट नदी पार गरी घाँस काट्न गएका उनीहरु सो नदीमा पानीको बहाव बढेपछि अलपत्र परेका थिए ।
उनीहरु नदीपारी अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुलवारीबाट खटिएको सुरक्षा फौजले ¥याफ्ट बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो।
यसैगरी सोही उपमहानगरपालिका–१५ स्थित कनरी गाउँमा खटिया नदीमा पानीको बहाव बढ्न गई डुवानमा परेका ७ परिवारलाई सोही बिओपीबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले आज साँझ एक सूचना जारी गरी जानकारी दिएको छ ।