काठमाडाँ : विपद न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजनाबारे ‘विपद् फोकल पर्सन’बीच आज छलफल आयोजना गरिएको छ ।
नेपालमा बढ्दो विपद् व्यवस्थापनको पूर्वतयारी र क्षति न्युनिकरणलाई थप प्रभावकारी बनाउन ‘विपद् फोकल पर्सन’ बीच छलफल गरिएको हो ।
विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (सन् २०१८–२०३०) अनुगमन तथा समीक्षाका सम्बन्धमा विभिन्न संघीय मन्त्रालय, निकाय, विभाग एवं काठमाडौँ उपत्यकाभित्रका सबै स्थानीय तहका ‘विपद् फोकल पर्सन’बीच छलफल भएको हो ।
विपद व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र राष्ट्रिय रणनीतिक कार्ययोजनाको अबस्था के छ? त्यस विषयमा जानकारी लिनका लागि र समयमै रिपोटिङ होस् भन्ने उद्देश्यले फोकल व्यक्तिबीचमा छलफल आयोजना गरिएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त कार्ययोजनालाई सबै मन्त्रालय र निकायले उत्तिकै अपनत्व लियोस् भन्ने लक्ष्य रहेको पनि बताउनुभयो ।
छलफलको उद्घाटन समारोहमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले रणनीतिक कार्ययोजनालाई सफल बनाउनु हामी सबैको कर्तव्य भएको र त्यसका लागि एक व्यक्ति वा संस्थाले मात्रै सम्भव नहुने हुँदा सबैको प्रभावकारी भूमिकाको अपेक्षा रहेको बताउनुभयो ।
समारोहमा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसालले शहरी क्षेत्रमा मानव सिर्जित जोखिम बढ्दो अवस्थामा रहेकोले न्यूनीकरणका लागि सबै सम्बन्धित निकायको समन्वययात्कम पहल आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै, गृह मन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख, सहसचिव डा. भीष्मकुमार भूसालले विकासका कार्यहरु अगाडि बढाउँदै गर्दा विपद् पनि निम्तिदै गएकाले अब विकासका कार्य गर्दा विपद् न्यूनीकरणलाई पनि समाविष्ट गर्दै लैजानुपर्ने बताउनुभयो ।
प्राधिकरणका सहसचिव अर्जुनकुमार बमले कार्यक्रमका उद्देश्यमाथि प्रष्ट पार्दै छलफलका विषयबारे जानकारी दिनुभएको थियो ।
विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (सन् २०१८–२०३०) विपद् उत्थानशील समुदाय निर्माण गर्दै दीगो विकासका लक्ष्यहरु हसिल गर्न सहयोग पुर्याउने सन्दर्भमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यका लागि नेपाल सरकारको प्रतिबद्धतासहितको राष्ट्रिय दस्ताबेज हो ।
यसले विगतको अनुभव, जलवायु परिवर्तनलगायत कारणले देखिएका असरबा पाठ सिक्दै विपद व्यवस्थापनलाई थप प्रभभावकारी बनाउने विषयमा जोड दिएको छ ।