काठमाडौँ । अविरल वर्षाका कारण मनसुनी विपद् (गत जेठ २८ गतेदेखि आजसम्म) देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ ।
हिजो सोमवारसम्म ७४ जनको मृत्यु भएकोमा आज थप ६ जनाको मृत्यु पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जनागरी ८० जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २३ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ८ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जनागरी जम्मा ९७ जना घाइते भएका छन् ।
उहाँले कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५ जना बेपत्ता छन् ।
बाढीका कारण जम्मा १६१ घर डुबानमा परेका छन् । १३८ घर, ५४ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३८४ पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट २ हजार ७६४ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत जारी रहेको प्रहरीले जनाएको छ । विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्यसमेत भइरहेको जनाइएको छ ।