काठमाडौँ : राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य पूर्वसूचनासँगै विपत् रोकथामका लागि पूर्वसचेतनालाई पनि उत्तिकै प्राथमिकताका साथ काम गरिरहेको छ।
जसका कारण पछिल्लो विपद्मा ठूलो क्षति हुनबाट जोगिएको प्राधिकरणको भनाइ छ। १० दिन अघि जल तथा मौसम विज्ञान विभागले अब अविरल वर्षा हुन्छ भन्ने विशेष बुलेटिनमार्फत पूर्वसूचना जारी गरेपछि पूर्वतयारी र प्रतिकार्यका लागि प्राधिकरणले पहल थालेकै कारण यस अवधिमा भएका जनधनको क्षति कम गर्न सघाउ पुगेको प्राधिकरणका प्रमुख अनिल पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार मनसुनजन्य विपतबाट कसरी कम क्षति बेहोर्ने भनेर गृह मन्त्रालय, प्राधिकरण, सरोकारवाला निकायका प्रतिनिधिसहितको कमाण्ड पोस्ट नै मौसम पूर्वानुमान महाशाखा पुगेर जानकारी लिएको थियो।
कसरी मनसुन पूर्वबाट सुदुरपश्चिम पुग्छ र वर्षाको अधिकता कहाँकहाँ छ भनेर प्रत्यक्ष अध्ययन गरेपछि रोकथामका लागि पूर्वसूचनालाई थप प्रभावकारी बनाउन लागि परेको पोखरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिले आफूले जानेपछि बल्ल अरुलाई भन्न र सिकाउन सजिलो हुन्छ, हामीले मनसुनी वर्षा गराउने बारे जानकारी दिने विश्वका धेरै मोडल हेरेर प्रतिकार्य योजनालाई प्रभावकारी बनाउन सक्यौँ।’
पूर्वसूचना दिने काम जल तथा मौसम विभागको रहे पनि त्यसलाई प्रभावकारी कार्यान्वयनमा लैजाने काम सरकार र सरोकारवाला निकायको रहेकाले पनि सबै निकायलाई समन्वय गरेर अघि बढेको उहाँले प्रष्ट पार्नुभयो ।
कहाँ कस्ता विपत् आउन सक्छ भनेर थाहा पाएपछि प्राधिकरणले सोही अनुसारका पूर्वसचेतनाका सामग्रीलाई जनसमक्ष पस्कन थालेको प्राधिकरणको भनाइ छ। यस्तै सूचनाहरु अहिले प्राधिकरणले दैनकि रुपमा जनसाधारणमा जारी गरिरहेको छ।
पूर्वसूचनाको बारेमा थाहा दिन सकियो भनेमात्र पनि धेरैको ज्यान बचाउन सकिने भएकाले त्यसको ज्ञान जनमानसमा पुर्याउन कोशिष गरेका प्राधिकरणको भनाइ छ। यस अवधिमा बाढी, पहिरो र चट्याङसहितको प्राकृतिक विपतको जोखिम उच्च थियो।
त्यसैले बाढीजन्य, पहिरोजन्य र चट्याङजन्य विपतबाट जोगिन अपनाउनुपर्ने उपायका बारेमा सचेतनामुलक सामग्रीको प्रचारप्रसार बढी गरिएको कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो।
मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले दिएको सूचनालाई जिल्ला विपत् व्यवस्थापनसम्म पुर्याएर स्थानीय तहलाई सतर्क बनाएकै कारण यस पटक बाढीले गर्ने जनधनको क्षति निकै कम गर्न सकिएको उहाँले बताउनुभयो।
पहिरोको पूर्वसूचना भने अझै राम्ररी दिन नसकिए पनि पहिरो आउनु अघिका संकेतका बारेमा बुझाउन बारम्बार प्रयत्न गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले मनसुनी वर्षाको पूर्वानुमान, बाढी पूर्वानुमान र चट्याङको पूर्वसूचनालाई यसपटक हदैसम्म पछ्याउदै कार्यान्वयनमा उतारेको जनाएको छ।
यस्तो त प्राधिकणले सर्वसाधारणका लागि जारी गरेको पहिरोसम्बन्धी सचेतनामूलक सन्देश
https://www.facebook.com/samriddhisanchar/videos/1285754832400033