काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले वर्षा अझै केही दिन कायम रहने स्पष्ट पारेको छ ।
मनसुन न्यून चापीय रेखा थप केही दिन नेपालको दक्षिण भूभाग÷सिमाना आसपास नै रहने र मनसुन अझै सक्रिय हुने सम्भावना भएकाले वर्षा कायमै रहने महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले यसपाली नेपालको पश्चिमी क्षेत्रमा बढी मनसुन सक्रिय भई जोखिम बढाउने देखिएको जानकारी दिनुभयो ।
यही असार १३ गतेदेखि नै नेपालमा मनसुन थप सक्रिय भएको थियो । जसका कारण देशैभर मौसम बदली भई हल्का तथा मध्यम वर्षा र विभिन्न क्षेत्रमा भारी वर्षासमेत भएको थियो । जसका कारण विभिन्न क्षेत्रमा जनधनको समेत क्षति भएको थियो ।
यसअघि असार १३ र १६ गते मनसुन विशेष मौसम बुलेटिन जारी गरी सतर्कता अपनाउन अनुरोध गरेको महाशाखाले आज राति पुन तेस्रो पटक विशेष बुलेटिन जारी गरी मनसुन थप सक्रिय हुने र वर्षा जारी रहने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आउँदा २३ गतेसम्मका लागि नै सतर्कता अपनाउन अनुरोध गरेको मौसमविद् अधिकारीले जानकारी दिनुभयो ।
बुलेटिनमा भनिएको छ, ‘देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको छ ।’
महाशाखाले भोलि शुक्रबारदेखि २३ गते आईतबारसम्म भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन तथा पूर्व तयारी गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।
महाशाखाले आउँदो तीन दिन गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, कास्की, पर्वत स्याङजा, तनहुँ, नवलपरासी पूर्व र मुस्ताङ, लुम्बिनी प्रदेशको कपिलवस्तु, रुपन्देही अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा, रुकुमपूर्व, कर्णलीको जाजरकोट, दैलेख, रुकुम पश्चिमक, कालिकोट, जुम्ला र हुम्ला तथा सुदुरपश्चिम प्रदेशको डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा उच्च जोखिममा रहेको जनाएको छ ।
