काठमाडौँ : धान दिवसका अवसरमा कृषकहरूमा समर्पित ‘किसान’ शीर्षकमा काठमाडौँमा आजदेखि जलरङ कला कार्यशाला तथा कला प्रदर्शनी सुर भएको छ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा अन्तरराष्ट्रिय जलरङ समाज नेपालको सहआयोजनामा सुरु भएको कला प्रदर्शनी १ सातासम्म चल्ने छ ।
प्रतिष्ठानको कार्यालय नक्सालमा सुरु प्रदर्शनीमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘किसान’ जलरङ कार्यशाला तथा प्रदर्शनीको आजको समयमा विशेष महत्त्व रहेको बताउनुभयो । उहाँले लक्ष्यप्राप्तिका लागि साधक, साधना र साध्यको गठजोड हुनुपर्ने धारणा राख्दै त्यस अर्थमा किसान जलरङ कार्यशाला राखिएको बताउनुभयो ।
कृषिकप्रति सम्मान, कृषि पेसाप्रति उत्साह, जागरण ल्याउनुपर्ने वर्तमान परिस्थितिअनुरूप नै प्रतिष्ठानले असार १५ अर्थात् धान दिवसका दिनलाई सिर्जनासँग जोड्न ‘किसान’ कला कार्यशाला तथा प्रदर्शनी गरेको हो ।

आजका कलाकार धेरैजसो कृषि पारिवारिक पृष्ठभूमिबाट आएता पनि तिनका कलामा किसान, कृषि र पर्यावरणीय विषय कम मात्रामा मात्र चित्रण हुने गरेका छन् । आजका कलाकारले श्रम, श्रमिकको सम्मान, श्रम संस्कृतिको निर्माण, कृषकका दुःख, पीडा र समस्या, कृषकको दिनचर्या, जीवनशैली, कृषिमा आधुनिकीकरण, कृषि पर्यावरणजस्ता विषय र मुद्दालाई पनि चित्रण गर्नुपर्नेमा कुलपति हार्तम्छालीको जोड थियो ।
सामाजिक रूपान्तरणका लागि, श्रम संस्कृतिको निर्माणका लागि, श्रमिक र श्रमप्रति पारस्परिक सद्भावका लागि जलरङमा मात्र सीमित नभई बहुविधालाई स्वीकार गरी असार १५ लाई कृषिमा जागरण र कृषकप्रति सम्मान गर्ने काममा ललितकलाकर्मी रङ र रेखाका माध्यमबाट लाग्नुपर्नेमा उहाँको जोड दिनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्यले किसाका विषयमा केन्द्रित भई ‘किसान’ जलरङ कला कार्यशाला तथा प्रदर्शनी हुनु राम्रो रहेको बताउनुभयो ।
“किसान वर्ग देशका अभिभावक हुन्, उनीहरुकै कारणले हामी बाँचेका छौँ । काम गर्ने, श्रम गर्ने वर्ग किसान हुन्, तिनप्रति सम्मान र श्रम संस्कृतिको निर्माण गर्न प्रतिष्ठानले गरेको यस किसिमको कार्यक्रमले किसानमा पक्कै आशा सञ्चार गर्ने छ किनभने नेपाल कृषि प्रधान देश हो तर आज हाम्रा खेतबारी बाँझा छन्, गाउँमा युवा शक्ति छैनन्, यस किसिमको जटिल समस्याबाट हामी ग्रुजिएका छौँ”, उहाँले भन्नुभयो ।
अग्रज कलाकार मदन चित्रकारले आफूभित्र जलरङ नसानसामा रहेको बताउँदै जलरङकर्मीहरूका लागि यो कार्यक्रम विशेष महत्त्वको रहेको र यसले जलरङकर्मीहरूलाई एकै ठाउँमा जमघट गराएको बताउनुभयो ।
उहाँले प्रतिष्ठानले जलरङकर्मी र किसानप्रति सम्मान गर्दै रचनात्मक कार्यक्रम गरेको र युवा वर्गमा जलरङप्रतिको उत्साह बढेको देख्दा खुसी लागेको बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले असार १५ अर्थात् धान दिवसका दिन वर्षाकालीन समयमा ‘किसान’ जलरङ कार्यशाला तथा प्रदर्शनी गरी सम्पूर्ण श्रमजीवी किसानप्रति सम्मानभाव व्यक्त गर्न खोजिएको बताउनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कृषिप्रधान देश नेपालमा ६५ प्रतिशत जनता कृषिकर्ममा आबद्ध रहेको र तिनै श्रमजीवी किसानवर्गप्रति समर्पित हुँदै कृषिको जागरण र किसानको सम्मानका लागि प्रतिष्ठानको अनुसन्धान, सिर्जना र सम्मान भन्ने नारा अनुरूप नै रङ र रेखाका माध्यमबाट ‘किसान’ जलरङ कला कार्यशाला तथा प्रदर्शनी गरिएको बताउनु भयो ।
उहाँले उक्त प्रदर्शनीमा ६५ जनाभन्दा बढी कलाकारका ८० कलाकृति राखिएको र प्रदर्शनी २१ गतेसम्म चल्ने बताउनुभयो । प्रदर्शनीमा किसान र उनीहरुको दिनचर्याका विषयमा कला सिर्जना मात्र समावेश छन् ।
प्रदर्शनीका संयोजक तथा सहआयोजक समाजका अध्यक्ष एनबी गुरुङले प्रतिष्ठानसँगको सहकार्यमा पहिलो पटक जलरङ कला कार्यशाला तथा प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताउँदै यसबाट जलरङकर्मी र कृषक वर्गप्रति सम्मान भाव व्यक्त हुने बताउनुभयो ।
कार्यक्रममा अग्रज कलाकार राधेश्याम मुल्मी, रतनकुमार राई, हरेराम जोजु, प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू प्रदीप अधिकारी र अरुणा हिङमाङ, सोफज नेपालका अध्यक्ष केशवराज खनाल, दीपेन्द्रमान बनेपाली, महेश आचार्य, डिल्लीराज घिमिरे, दिवेश प्रधान, डिवी राईलगायतका ३० जना कलाकार प्रत्यक्ष कला कार्यशालामा समेत सहभागि हुनुभएको थियो ।