काठमाडौँ : कास्कीका प्रमुख जिलल अधिकारी भरतमणि पाण्डेको पहलमा हिजो विपदजन्य घटनाबाट घाइते भएका एक व्यक्तिको निशुल्क उपचारका व्यवस्था मिलाइएको छ ।
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीको टोलीले गण्डकी मेडिकल कलेज नयाँबजारको आइसियुमा उपचाररत रितु सुनारको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएपछि प्रजिअ पाण्डेले गण्डकी मेडिकल कलेजसँगको समन्वयमा घाइतेको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
यस्तै प्रजिअ पाण्डेसहितको जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको टोलीले आजै जिल्लाको मादी गाउँपालिका ५ स्थित घरमा ढिस्को खसेर मृत्यु भएका १३ वर्षकी आयुष्मा रानाभाटका परिवारलाई २ लाख राहत पनि वितरण गरेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पीडित परिवारलाई तल्काल राहत दिने सरकारी योजना कार्यान्वयन गर्न घटना घटेको २४ घण्टा नवित्दै राहत उपलब्ध गराइएको बताउनुभयो ।

उहाँले आज घटनास्थलमा नै पुगी मृतक आयुष्मा रानाभाटको परिवार (आमा) लाई नेपाल सरकारको विपद्का घटनामा परी मृत्यु भएका व्यक्तिलाई राहत उपलब्ध गराउनेसम्बन्धी मापदण्ड, २०७७ बमोजिम जिल्ला विपद् व्यवस्थापन कोषबाट २ लाख राहत वितरण गरएिको बताउनुभयो ।
यही असार ११ गते रातिदेखि परेको अविरल वर्षाका कारण असार १२ गते हिजो कास्की जिल्ला मादी गाउँपालिका ५ निवासी प्रकाश रानाभाटको ब्लक र टिनले बनेको ३ कोठे कच्ची घरको पछाडिको माटोको ढिस्को घरमा खसेको थियो । उक्त दुर्घटनाका कारण कोठामा सुतिरहेका वर्ष १३ की आयुष्मा रानाभाटको मृत्यु भएको थियो । उनकी हजुरआमा ७० वर्षीय लालमायालाई सकुसल उद्धार गरिएको थियो ।
यस्तै कास्की जिल्ला पोखरा महानगरपालिका २७ आरुपाटा निवासी हरि सुनारको ढुङ्गा माटोले बनेको २ कोठे कच्ची घरको पछाडिबाट माटोको ढिस्को खस्न गई सोही घरमा सुतिरहेका उनका छोरा ३ वर्षका अनमोल सुनारको मृत्यु भएको थियो । उनको परिवारलाई पनि राहत दिने तयारी भइरहेको प्रजिअ पाण्डेले बताउनुभयो ।
मृतककी आमा वर्ष २७ की रितु सुनार घाईते भई हाल गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचार भइरहेको छ । उनको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यही असार ११ र १२ गते देशभरका विपदजन्य घटनामा परेर १८ जनाको मृत्यु भएको छ । मनसुन सुरुभएपछि अहिलेसम्म २८ जनाले ज्यान गुमाइसकेका गृह मन्त्रालयले जानकारी दिएको छ ।