काठमाडौँ : काठमाडौँका विभिन्न क्षेत्रमा दिउँसै लाखौँको धनमाल चोरी भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालकया अनुसार ती चोरीका घटनामा संलग्न रहेका ४ जनालाई पक्राउ गरी आज प्रहरीले सार्वजनिक गरेको छ ।
दिउँसोको समयमा काठमाडौँको बसुन्धारा नमुनाटोलस्थित डेरा गरी बस्ने स्याङ्जाका पुष्पा भण्डारी उपाध्यायको कोठामा कोही नभएको अवस्थामा गरगहनासहित रु २५ लाख चोरी भएको थियो ।
यस्तै कलंकीस्थिति मनिष पौडेलको डेराबाट ल्यापटप तथा महत्वपूर्ण कागजपत्रहरु तथा महाराजगञ्जस्थित विशेष प्याकुरेलको घरमा कोही नभएको मौका पारी नगद ल्यापटप तथा अन्य कागजपत्र गरी रू एकलाख ४५ हजार बढीको धनमाल चोरी भएको जाहेरी परेको प्रहरीले जनाएको छ ।
त्यस्तै काठमाडौँको नागार्जुन बस्ने आकाश खड्काको डेरा कोठाबाट ल्यापटप तथा अन्य धनमाल चोरी गरी लगेको जाहेरी परेपछि प्रहरी टोली खोजतलासमा खटिएको कार्यालयका प्रहरए उपरीक्षक अंगुर जिसीले बताउनुभयो । उहाँका अनुसार खोजतलासका क्रममा यही असार ५ गतेसम्ममा ४ जनालाई पक्राउ गरिएको छ।
ती घटनाको अनुसन्धान तथा चोरी गर्नेहरुको खोजतलासका क्रममा बैतडी घर भई काठमाडौँको कलंकी बस्ने निराजन महरासमेतका व्यक्तिहरुलाई पक्राउ गरिएको छ । यस्तै भारतीय नागरिक सुजित कर, भारतको मोतिहारीका सेफ अली आलम तथा काभ्रे घर भई काठमाडौँ बस्ने मोनिका लामा पनि पक्राउ परेका जिसीले बताउनुभयो ।
उहाँका अनुसार ती व्यक्तिहरुले शुरुमा उनीहरु सबैका घरकोठामा पसेर चोरी गरेका अनुसन्धानमा खुलेको पनि जानकारी दिनुभयो ।
उनीहरुको साथबाट विभिन्न कम्पनीका ४ वटा ल्यापटप, ६ थान मोबाइल, सात हजार नगद, ६३.६४ ग्राम सुनको ढिक्का, ताला फोड्न प्रयोग हुने सामानहरु बरामद गरिएको प्रहरी उपरीक्षक जिसीले जानकारी दिनुभयो ।