काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका लागि आध्यात्मक चिन्तन अति आवश्यक भएको बताउनुभएको छ ।
काठमाडौँको बूढानीलकण्ठस्थित नेपाल विपश्यना केन्द्रमा आज १० दिवसीय विपश्यना ध्यान शिविरको समापनका अबसरमा महानिरीक्षक कुँवरले नेपाल प्रहरीका भविष्यका कर्णधार कार्यक्रमा सहभागी प्रहरी निरीक्षकको जागिरे जीवनमा मात्र नभई व्यक्तिगत जीवनमा समेत यसले प्रत्यक्ष रूपमा लाभान्वित पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको जीवनशैली अत्यन्त द्रुत, व्यस्त र चुनौतिपूर्ण रहेको उल्लेख गर्दै विभिन्न कठिनाईहरूको सामना गर्नु अगाडि आत्म चिन्तन, आत्म अनुभूति र तनावमुक्त हुन पाउनु एउटा अमूल्य अवसर रहेको उल्लेख गर्नुभयो ।
जीवनमा आईपर्ने विभिन्न बाधा, कठिनाइ, चुनौतीले धेरै उदास नहुने र प्राप्त हुने हर्ष उल्लासले वास्तविकता नबिर्सने ज्ञान र सीप प्राप्त गर्न समेत यो ध्यान शिविरले मद्दत पु¥याएको उहाँले बताउनुभयो ।
शिविरमा सहभागी भएका प्रहरी निरीक्षकहरूले सधै विवेकशील र व्यावसायिक ढंगले आफ्नो कर्तव्य पालान गर्ने र नेपाल प्रहरीको उज्जवल भविष्यको रूपमा आफूलाई सावित समेत गर्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा अवकाशप्राप्त प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य डा. रूप ज्योतीले ध्यान शिविरको महत्वबारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको समन्वयमा जेठ २२ गतेदेखि सञ्चालित उक्त शिविरमा हालै दीक्षित प्रहरी निरीक्षक आधारभूत तालिम १८२ औँ समूहका १४६ जना प्रहरी निरीक्षकहरूको सहभागिता रहेको थियो ।