काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणकाक्रममा गृहमन्त्री लामिछानेले कार्यालयमा रहेको सहायता कक्ष, गुनासो शाखा, ब्यारेक, कन्ट्रोल रूमलगायत विभिन्न शाखाहरूको निरीक्षण गर्दै सो सम्बन्धी काम र अवस्थाकाबारे जानकारीसमेत लिनुभयो ।
निरीक्षणपश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले विभिन्न समस्या र अभावका बाबजुद ट्राफिक प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको र ती समस्याहरू समाधान गर्न गृहमन्त्रालय कटिबद्ध रहेको बताउनुभयो ।
गृहमन्त्री लामिछानेले भन्नुभयो, “पोषाक लगाएको प्रहरीलाई देखेर नागरिकलाई लागोस् कि यो मेरो मान्छे हो। यसको लागि प्रत्येक प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ।”
ट्राफिक प्रहरीले प्रचलित कानून कार्यान्वयनमा कडा रूपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले ट्राफिक नियम मिच्नेलाई छुट दिन नहुने बताउनभयो । “जाँचलाई अझ प्रभावकारी बनाई लापसे, मापसे र लेन अनुशासनमा कसैलाई छुट नदिनुहोस्”, उहाँले भन्नुभयो ।
कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले ट्राफिकले भोग्नुपरेको समास्या निराकरणको लागि मन्त्रालय सदैव कटिबद्ध रहेको बताउँदै ट्राफिक प्रहरीले सडकमा खटिँदा घामपानी नभनी विभिन्न समस्या झेल्दै कार्य गर्दै आइरहेकोमा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापनमा थप सहजता ल्याउन सकिने बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले ट्राफिक व्यवस्थापनलाई थप चुस्त बनाउन आग्रह गर्नुभयो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक प्रहरीको काम कारबाही, जनशक्ति परिचालन, ट्राफिक व्यवस्थापनका लागि चालिएका कदमहरू, दुर्घटनाको अवस्था, दुर्घटना न्यूनिकरणको लागि चालिएका कदमहरू, सेवा प्रवाहका क्रममा भोग्नुपरेका समस्याहरू र सुधार गर्नुपर्ने पक्षहरूको विषयमा जानकारी गराउनुभएको थियो ।