काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा जेठ १५ गतेबाट सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ आज सम्पन्न भएको छ ।
१८ दिनसम्म चलेको प्रदर्शनीको ४० हजारभन्दा बढीले अवलोकन गरेका थिए । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहित प्रदर्शनीमा नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रशासनिक, आर्थिक, कूटनीतिक, शैक्षिक, कानुनीक्षेत्रका प्रतिनिधि, विभिन्न विद्यालय, सङ्घसंस्था, कलेजबाट उल्लेख्य सहभागिता रहेको थियो ।
प्रदर्शनीमा ५० भन्दा बढी विद्यालयका हजारौँ विद्यार्थीले अवोकन गरेका आयोजकले जानकारी दिएको छ। समापन समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठानले स्थापनाकालदेखि नै गर्दै आएको राष्ट्रिय ललितकला प्रदर्शनीमा यसपटक सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ गरी त्यहाँबाट छानिएका उत्कृष्ट कलाकृतिहरूलाई राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रादेशिक ललितकला प्रदर्शनीमा हजारभन्दा बढी कलाकार जोडिएको र त्यसबाट छानिएका र अप्रतियोगी गरी ४८२ जना कलाकारका ५२२ कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रादेशिक रूपमा गरेको प्रदर्शनी अत्यन्तै प्रभावकारी भएको बताउँदै ‘गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८०’मा ललितकला प्रज्ञा–प्रतिष्ठानसँग ऐतिहासिक कार्यमा सहकार्य गर्न पाउँदा हर्षित भएको बताउनुभयो ।
प्रदर्शनीको पूर्वसन्ध्यामा आयोजित ‘ब्यानर लेखन प्रतियोगिता’मा प्रथम, द्वितीय र तृतीय हुनुहुने कलाकारहरू क्रमशः सुरेन्द्रकुमार चौधरी, सुरेन्द्रप्रसाद चौधरी र उमेश शाह तेलीलाई प्रमाण–पत्र र नगद क्रमशः रु १० हजार, रु ७ हजार र रु ५ हजार प्रदान गरिएको थियो ।