काठमाडौँ । काठमाडौँको नक्सालमा जारी कला सिर्जनाकै महोत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ मा आजसम्म झण्डै २० हजारले अवलोकन गरेका छन् ।
प्रदर्शनीमा राजनीतिज्ञ, कलाकार, साहित्यकार, लेखक, वुद्धिजिवी, समाजसेवी, सर्वसाधारण तथा विद्यार्थीहरुले अवलोकन गर्ने क्रम जारी छ । सबैभन्दा बढी विद्यार्थीहरुले प्रदर्शनी अवलोकन गरेका छन् ।
अहिलेसम्म ४० भन्दा बढी विद्यालयका विद्यार्थीहरुले कला प्रदर्शनी अवलोकन गरिसकेका छन् । आयोजक नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले समग्रमा झण्डै २० हजारले कला प्रदर्शनी अवलोकन गरिसकेका र यो क्रम जारी रहेको जानकारी दिनुभयो ।
उहाँले कुनै दिन ५, ६ वटा विद्यालयबाट विद्यार्थीहरु अवलोकनका लागि आएका बताउँदै यसपाली प्रदर्शनीमा बढी रौनक देखिएको जानकारी दिनुभयो । प्रदर्शनी काठमाडौँको नक्सालमा यही जेठ १५ गतेबाट सुरु भएको थियो । प्रदर्शनी यो महिनाभर चल्ने छ ।
यसपटक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौँका दर्जनौँ स्कुलमा पुगेर शिक्षामा सीप कार्यक्रम नै सञ्चालन गरेको थियो । त्यसकारण पनि विद्यार्थीको आकर्षण थपिएको अनुभव भएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो ।
यो कला प्रदर्शनीलाई नेपालको कला क्षेत्रको सबैभन्दा ठूलो उत्सवका रुपमा हेरिने गरिएको छ । ललिलकलाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न मुलुकमै पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएका छन् ।
प्रतिष्ठानका उपकुलपति एवं ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ कार्यकारी समितिका संयोजक लालकाजी लामा प्रतिष्ठानको स्थापना कालदेखि नै हुँदै आएको यस ‘राष्ट्रिय ललितकला प्रदर्शनी’को कला प्रवद्र्धनका लागि विशेष महत्व रहेको बताउनुहुन्छ । विद्यार्थीको आकर्षण थपिँदा प्रदर्शनीको औचित्य थप बढेको उहाँले बताउनुभयो ।
प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण, ललितकलाको अभियान’ भन्ने मूल नाराका साथ प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा राखिएको छ ।