काठमाडौँ । काठमाडौँको नक्सालमा जारी ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ मा स्कुले विद्यार्थीहरु लोभिएका छन् । उनीहरुको आकर्षण बढ्दो रहेको पाइएको छ ।
यही जेठ १५ गतेबाट सुरु भएको प्रदर्शनीमा दैनिक जसो विभिन्न विद्यालयबाट सयौँको संख्यामा विद्यार्थीहरु अवलोकनका लागि आउने गरेका नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिक्षक विद्यार्थीहरु समुहगत रुमपा आएर कला सिर्जना अवलोकन गर्ने तथा ज्ञान हासिल गरिरहेका छन् ।
प्रदर्शनीमा आजसम्म चन्द्रबाग स्कुल बाँसबारी, सुप्रिम शिवबाबा स्कुल खुसिबु, बालबबाटिका स्कुल पेप्सीकोला, सप्तऋणि पाठशाला मूलपानी, किब्स स्कुल बौद्ध, टंगाल माध्यामिक विद्यालय, केन्द्रीय बहिरा माध्यामिक विद्यालय नक्साल, एकलभ्य शिक्षा सदन गोठाटार, कामना इन्टरनेशनल स्कुल सानो भर्याङलगायतका स्कुलबाट हजारौँ विद्यार्थीहरुले प्रदर्शनी अवलोकन गरिसकेका छन् । अन्य स्कुलबाट विद्यार्थी आउने क्रम जारी छ ।

यसका साथै विशिष्ट व्यक्ति, राजनीतिज्ञ, शिक्षक, कलाकार, समाजसेवी तथा अग्रज व्यक्तिहरुबाट पनि प्रदर्शनी अवलोकन जारी रहेको आयोजक प्रतिष्ठानले जनाएको छ।
यसपटक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौँका दर्जनौँ स्कुलमा पुगेर शिक्षामा सीप कार्यक्रम नै सञ्चालन गरेको थियो । त्यसकारण पनि विद्यार्थैको आकर्षण थपिएको अनुभव भएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले बताउनुभयो । उहाँले यो अनुभवले विद्याथीृहरुको नयाँ उत्साह थपिएको पाइएको बताउनुभयो ।
यो कला प्रदर्शनीलाई नेपालको कला क्षेत्रको सबैभन्दा ठूलो कला उत्सवका रुपमा हेरिने गरिएको छ । ललिलकलाको संरक्षण, संवद्र्धन र प्रवर्धन गर्न मुलुकमै पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएका छन् ।

प्रतिष्ठानका उपकुलपति एवं ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ कार्यकारी समितिका संयोजक लालकाजी लामा प्रतिष्ठानको स्थापना कालदेखि नै हुँदै आएको यस ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ को विशेष महत्व रहेको बताउनुहुन्छ । विद्यार्थीको आकर्षण थपिँदा प्रदर्शनीको औचित्य थप प्रष्ट भएको उहाँले बताउनुभयो ।
प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावका साथ प्रदर्शनी आयोजना गरेको हो । जेठ ३० गतेसम्म चल्ने ललितकला प्रदर्शनी २०८१’ मा ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा राखिएको छ ।