काठमाडौँ : २५६८औँ बुद्ध जयन्तीका अवसर पारेर आजदेखि काठमाडौँको बौद्धमा बुद्धकै विषयमा कला प्रदर्शनी हुँदै छ । यसपालीको उक्त प्रदर्शनीबाट आएको आम्दानीको ५ प्रतिशत असहायहरुका लागि छुट्याइएकाले प्रदर्शनी खास रहेको छ ।
यसपटक आयोजना गरिएको ५ दिने उक्त प्रदर्शनीमा २० जना कलाकारले बनाएका ३० वटा सिर्जनाले स्थान पाएको छ । आर्ट बुम, द स्प्रिचुअल आर्टस् र ललितकला गुठी तथा एला आर्ट ग्यालरीको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो ।
सेवाभाव राखेर आयोजना गरिएको यो प्रदर्शनीको उद्देश्य हिंसात्मक बाटोमा गइरहेको विश्व समुदायका लागि शान्ति र करुणाको सन्देश दिने प्रयास पनि रहेको आर्ट बुमका अध्यक्ष रत्न शाक्यले बताउनुभयो ।

प्रदर्शनीमा अग्रजदेखि नवकलाकारका सिर्जनाहरु राखिएको छ । यसपटक बुद्ध भगवानका विषमया नै काम गरिएको पनि शाक्यले जानकारी दिनुभयो ।
शाक्यले भन्नुभयो, “हामी कलाकारले विभिन्न चाडवर्ज तथा उत्सवमा आर्टमार्फत प्रस्तुत गर्न सक्छौँ, शिवरात्रीमा शिवको, होलीको समयमा रंगका विषयमा कला गतिविधि गर्ने गरिएको छ । सोही अनुसार यसपटक बुद्ध जयन्ती रहेकाले बुद्ध भगवानसँग केन्द्रित कला प्रदर्शनी गर्न लागिएको हो ।”
यो समूहसँग यसअघि एक्लै र सामुहिकरुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय काम गरिसकेको अनुभव छ । सात महिना अघि मात्रै नेपाल, बंगलादेश, फ्रान्स, भारत र बेलायतका कलाकार बोलाएर कार्यशाला र प्रदर्शनी पनि गरिएको थियो।
“यो समूह आर्ट गतिविधि गरेर अघि बढिरहेको युवा कलाकारको समूह हो । हामी आर्ट नै गर्ने हो, हाम्रो अरु पेशा छैन, समाजका विषय उठान गर्दै नेपाली कला सँस्कृति चिनाउन कलामार्फत योगदान दिँदै आएका छौँ”, ललितकला गुठी तथा एला आर्ट ग्यालरीका अध्यक्ष उत्तम डंगोलले भन्नुभयो ।
उहाँले यहाँबाट आएको आम्दानीको केही प्रतिशत मानवसेवा आश्रमका बेसहाराहरुका लागि सहयोग गर्ने बताउनुभयो । द स्प्रिचुअल आर्टस्का अध्यक्ष सजिव शाक्यले पवित्र उद्देश्यसहितको प्रदर्शनी भएकाले पनि थप उत्साहित रहेको बताउनुभयो ।
आयोजक प्रतिनिधि
सन्सारमा युद्ध भइरहेको छ । स्वार्थको राजनीति र द्वन्द्व चर्किरहेको छ । बुद्धको सन्देश माया, प्रेम, करुणा, मैत्री अहिंसा हराउँदै गएको हो की भन्ने अनुभव त्यहाँबाट हुन्छ । मनिसहरु आफ्नो फाइदाका लागि मात्रै काम गरिरहेका छन् । राम्रा काम अवशेषको रुपमा देखिने बेला भयो ।
त्यसैले करुणामैत्री कामलाई आत्मसाथ गर्दै केही सन्देश जान सक्ला की भनेर यसपटक कला प्रस्तुत गरिएको आर्ट बुमका अध्यक्ष रत्न शाक्यले बताउनुभयो । प्रदर्शनीमा जनकुरा डटकम र समृद्धिखबर डटकमले समेत सहकार्य गरेको छ ।