काठमाडौँ : गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई÷मधेशका जिल्लाहरुमा परिपत्र जारी गरेको छ ।
मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै जिल्लाहरुमा परिपत्र गर्दै लूबाट जोगाउने उपाएका बारेमा सर्वसाधारणमा सचेतना फैलाउन निर्देश गरेको हो ।
प्राधिकरणका नीति, योजना तथा अनुगमन महाशाखा प्रम्रख, सहसचिव भरतमणि पाण्डेका अनुसार गर्मी हुने जिल्लाहरुका लागि मंगलवार साँझ नै परिपत्र पठाइसकिएको जानकारी दिनुभयो ।
उहाँले लूसम्बन्धी सन्देश उत्पादन र प्रसारणबारे तराई÷मधेशका जिल्ला प्रशासन कार्यालयहरुलाई आवश्यक निर्देशन दिइएको बताउनुभयो ।
परिपत्रमा सचेतनामूलक सामग्री उत्पादन गरी आफ्ना आधिकारिक वेबसाइट एवं सामाजिक सञ्जालमार्फत प्रकाशन र प्रसारण गर्न, उपर्युक्त सन्देशको उत्पादन र प्रसारणमा स्थानीय एफएम र टेलिभिजनसँग सहकार्य गर्न, रेडियो, टेलिभिजनको सामाजिक सञ्जाल वा अनलाइनमार्फत् पनि प्रचार प्रसारमा जोड दिन भनिएको छ ।
सन्देश बनाउँदा स्थानीय भाषा, स्थानीय कलाकार, स्थानीय लवज, स्थानीय पहिरन तथा आधिकारिक निकायका व्यक्तिलाई प्रयोग गर्न पनि भनिएको छ ।
एउटा सन्देश रेडियोको हकमा एक मिनेट र भिडियो हो भने २ मिनेटभन्दा लामो नबनाउन, स्थानीय परिवेश अनुसार महत्वपूर्ण लागेका सन्देश धेरै जनालाई माध्यम बनाएर उत्पादन र प्रसारण गन, विपद् व्यवस्थापनमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाको सहायता लिएर उनीहरु स्वयंको सामाजिक सञ्जाल र प्रसारण माध्यमबाट पनि प्रचार प्रसार गर्न लगाउन पनि निर्देशन गरिएको छ।
स्थानीय संचार माध्यममा दैनिक÷साप्ताहिक÷अर्धमासिक रुपमा बनाइरहेका कार्यक्रमहरुमा यी सन्देश प्रसारण गर्ने व्यवस्था मिलाउन पनि सबै जिल्लालाई परिपत्र पठाइएको प्राधिकरणले जनाएको छ ।
तातो हावाको लहर ’लू’ र यसबाट बच्ने उपाय
गर्मी मौसममा असामान्य रुपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ‘लू’ भनिन्छ ।
यो एक प्रकारको प्राकृतिक प्रकोप हो । खासगरी नेपालको तराई क्षेत्रमा धेरै गर्मीको दिन तातो हावाको लहर ‘लू’ चल्न सक्छ । यसले स्वास्थ्यमा असर गर्छ । कहिलेकार्ही मृत्यु समेत हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शरीरमा कस्तो असर देखिन सक्छ?
चिकित्सकका अनुसार थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुखे, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने ।
हातगोडा वा अनुहार सुन्निने र बेहोस हुने हुन्छ । यस्तै मुटुको धड्कन बढ्ने, छाला सुख्खा र रातो हुने, पिसाबको रंग पहेँलो हुने, सास फेर्न गाह्रो हुने र रक्तचाप हुने हुन्छ ।
१०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आई विरामी बेहोस हुने वा कोमाको लक्षण देखिने र पछि विरामीको ज्यान समेत जान सक्ने हुन्छ ।
लू लागेमा कसरी मद्दत गर्ने ?
लू लागेको व्यक्तिलाई शीतल ठाउँमा लाने, शरीरभित्र सजिलै हावा छिर्ने गरी लुगा खुकुलो बनाईदिनुपर्ने हुन्छ ।
विरामी होसमा भएमा पानी वा झोलिलो खानेकुरा दिने तर कफी, चिनीको मात्रा धेरै भएको पेय पदार्थ, जाँडरक्सी नदिने, पंखाले हम्कने, भिजेको चिसो कपडाले निधार, हत्केला, गोडा, पैतालामा पानीपट्टी लगाइदिने गर्नुपर्छ । यस्तै विरामीलाई गाह्रो भएजस्तो लागेमा नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजान भनिएको छ ।
आफू र अरुलाई कसरी जोगाउने ?
चर्को घाम लागेको बेला सकभर घर बाहिर ननिस्कने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्ने, खेतबारी वा बाहिरको काम बिहान वा दिउँसो ४ बजेपछि मात्रै गर्ने, चर्को घाममा नहिँड्ने वा काम गर्ने परे शीतल हुने गरी बेलाबेला आराम गर्ने, प्रशस्त मात्रामा पानी पिउने, धेरै चिनी नहालेको सर्वत, कागती पानी र फलफूल खाने, धेरै पसिना आएमा जीवनजल पिउने गर्नुपर्छ ।
पत्रु खाना (जङ्क फुड) नखाने, घरमै बनाएको ताजा खानेकुरा खाने, घरमा शीतल हुने गरी पर्दा, पड्डा, सिलिङ र झ्यालढोकाको प्रबन्ध गर्ने गर्नुपर्छ ।
यस्तै आफ्ना छोराछोरीलाई माथि भनिएका उपाय अपनाउन लगाउने, दिउँसोको चर्को घामम खेल्न जान नदिने, लूका कारण गाह्रो भएमा तुरुन्तै नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजाने, जेष्ठ नागरिक र मुटु, फोक्सो, मृगौला रोग भएकालाई लूले छिटो असर गर्ने भएकाले उनीहरुलाई माथि भनिएका जोगिने उपाय सिकाउने गर्नुपर्छ ।