हेटौँडा । मानव सेवाप्रति समर्पित मकवानपुरको हेटौँडा र आसपासका क्षेत्रमा बिहीवारदेखि सुरु भएको ‘हेटौँडा कला महोत्सव’ सकिएको छ ।
शनिवारीय स्थलगत कला कार्यशाला अभियानको आयोजनामा यही जेठ ३ देखि ५ गतेसम्म महोत्सव भएको थियो ।
महोत्सवअन्तरगत हेटौँडाको भुटनदेवी, पुष्पलाल पार्क, शहिद स्मारक र मावसेवा आश्रममा कला कार्यशाला र प्रत्यक्ष कला सिर्जना गरिएको थियो ।
सो क्रममा कलाकारले हेटौँडाको पाथीभरा, मकवामना मन्दिर तथा मकवानपुर गढी र आसापासका दृष्यहरु कलामा समावेश गरेका थिए। महोत्सव निक्कै उपलब्धिमुलक रहेको संयोजक दिवेश प्रधानले बताउनुभयो ।

महोत्सवअन्तरगत कलाकारले शनिवार मनकामना डाँडा, पाथीभर हेटौँडा भ्यूटावर, गुम्बाडाँडा हर्नामाडी, मकवानपुर गढी लगायतको भ्रमण गरेका थिए ।
कला कार्यशालामा सिर्जना गरिएका कलाहरु आज जेठ ६ गते मानवसेवा आश्रममा विशेष कार्यक्रम आयोजना गरी प्रदर्शन समेत गरिएको छ ।
कला महोत्सवले हेटौँडाको ऐतिहासिक साँस्कृतिक एवं पर्यटकीय गरिमालाई ललितकलाका माध्यामबाट संरक्षण एवं प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा पनि गरिएको हो ।
यसले हेटौँडाबासीमा कलाप्रेम जगाई रेथाने ललितकलाको ज्ञानलाई अभिलेखिकरण गरी जीवन्त राख्न कार्यक्रम गरिएको अभियानका अध्यक्ष राकेशचन्द्र श्रेष्ठले बताउनुभयो ।
आज कलाकारहरु प्रकाश मानन्धर, विक्रम प्रजापति, राकेशचन्द्र श्रेष्ठले आश्रममा आश्रित व्यक्तिहरुको मुहार चित्र समेत बनाउनुभएको थियो ।

कलामै पिएचडी गर्दै गर्नुभएका कलाकार सुवास आचार्यले धार्मिक, ऐतिहासिक र प्रकृतिका विषयवस्तुलाई क्यानभासमा उतारिरहेका कलाकारलाई हेटौँडा कला महोत्सवले मानवसेवा जस्तो पवित्र विषयसँग पनि जोड्नु महत्वपूर्ण भएको बताउनुभयो ।
कला महोत्सवले हेटौँडाको पर्यटन प्रवद्र्धनमा महत्यपूर्ण योगदान गर्ने कलाकार दिपेन्द्रमान बनेपालीले बताउनुभयो ।
उक्त महोत्सवमा काठमाडौँबाट २५ सहित ५० भन्दा बढी कलाकारको सहभागिता रहेको थियो । अहिलेसम्म प्रादेशिक राजधानी भएर पनि हेटौँडामा एउटा पनि कला प्रदर्शनी गर्ने ग्यालरी नै नभएको अवस्थामा कार्यक्रमले नयाँ सन्देश दिएको छ ।

कलाकारका सिर्जना मावसेवा आश्रममा प्रदर्शनमा राखिएको र त्यसको कुल विक्रीको ५० प्रतिशत रकम मानवसेवा आश्रमलाई सहयोग गरिने जनाइएको छ । इच्छुक व्यक्तिले आश्रममा गएर चित्र खरिद सक्ने छन्।
यसपटकको महोत्सवमा रसुवाका कलाकार सुवास आचार्य, पोखराका मनोज तामाङ र
हरेराम जोजिजु, वीरगञ्जबाट मुकेस महत्तो रहनुभएको थियो ।
भक्तपुरबाट पुण्यराम मटाङ, राजेन्द्र याकमी, राधेश्याम कर्माचार्य, एलपी खोटेजा, विकाश विसुङ्के सहभागी हुनुभएको थियो ।
थिमिबाट दिपेन्द्रमान बनेपाली, विक्रम प्रजापति, प्रकाश मानन्धर, प्रविन श्रेष्ठ, प्रमिल श्रेष्ठ, हरि प्रजापति, कान्छाकाजी भाषीमा, मिलन थापा सहभागी हुनुहुन्थ्यो ।
ललितपुरबाट राकेशचन्द्र श्रेष्ठ र उत्तम डंगोल, लाक्पा शेर्पा, दिकुमार देशार हुनुहुन्थ्यो । काठमाडौँबाट राजमान महर्जन र दिवेशमान सिंह प्रधान हुनुहुन्थ्यो । कार्यक्रममा उप्राध्यापक डा तारालाल श्रेष्ठले कलासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।












