काठमाडौँ । मानवसेवा प्रति समर्पित मकवानपुरको हेटौँडा र आसपासका क्षेत्रमा हुने ‘हेटौँडा कला महोत्सव’को सबै तयारी पूरा भएको छ ।
शनिवारीय स्थलगत कला कार्यशाला अभियानको आयोजनामा २०८१ जेठ ३ देखि हुन लागेको कला महोत्सवले हेटौँडालाई कला गतिविधिमा अब्बल बनाउँदै कला नगरीकारुपमा स्थापित गर्ने आशा गरिएको छ ।
कला महोत्सवले हेटौँडाको ऐतिहासिक साँस्कृतिक एवं पर्यटकीय गरिमालाई ललितकलाका माध्यामबाट संरक्षण एवं प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ । यसले हेटौँडाबासीमा कलाप्रेम जगाई रेथाने ललितकलाको ज्ञानलाई अभिलेखिकरण गरी जीवन्त राख्ने छ ।
बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय संरक्षक रहेको महोत्सवको सहआयोजकमा हेटौँडा उपमहानगरपालिका रहेको छ। महोत्वसमा खुलास्थल चित्रकला कार्यशाला, कलासम्बन्धी संवाद, वरिष्ठ कलाकारको सम्मान, कलाकै विषयमा कार्यपत्र प्रस्तुतिलगायतका गतिविधि हुनेछन् ।
भोलि जेठ ३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना हुने महोत्सव अन्तरगत कलाकारले भुटनदेवी मन्दिर, पशुपति मन्दिर, वनस्खण्डी, बुद्ध चोक, चौकी टोल, लालझाडी, दक्षिणकाली, मकवानपुर गढी, राप्ती पुल, हेटौडा बसपार्क, कृष्णमन्दिर, सानो पोखरा गुम्बा, त्रिवेणीधाम,चम्पा डाँडा, मककामना मन्दिर, शहिद स्मारक पार्क र पुष्पलाल पार्कलगायत क्षेत्रमा कला कार्यशाला तथा विविध कार्यक्रम हुने छ ।

उक्त महोत्सवमा काठमाडौँबाट २५ सहित ५० भन्दा बढी कलाकारको सहभागिता रहने कार्यक्रम संयोजक दिवेश प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार काला सम्बादका साथै कला डेमोस्ट्रेसन पनि हुने छ । यसले हेटौंडाको कला विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ ।
अहिलेसम्म प्रादेशिक राजधानी भएर पनि हेटौँडामा एउटा पनि कला प्रदर्शनी गर्ने ग्यालरी नै नभएको अबस्थामा कार्यक्रमले नयाँ सन्देश दिने अपेक्षा गरिएको छ ।
त्यस क्षेत्रमा कला र संस्कृतिप्रतिको जागरण ल्याउन महोत्सव गर्न लागिएको हो। महोत्सवमा कूल बिक्रीको ५० प्रतिशत रकम मानवसेवा आश्रमलाई सहयोग गरिने जनाइएको छ ।
मुख्य आकर्षण
हेटौँडाको ऐतिहासिक, साँस्कृतिक, एबं पर्यटकीय स्थलमा चित्रकला कार्यशाला र प्रदर्शनी, नेपालका बरिष्ठ चित्रकारहरु एवं हेटौँडाका स्थानीय कलाकारको सहभागितामा स्थलगत कला कार्यशाला, प्रत्यक्ष कला सिर्जना र प्रदर्शन गरिने छ ।
हेटौँडा क्षेत्रको ललितकलासम्बन्धी अतित, वर्तमान र भविश्यसम्बन्धी कार्यपत्र प्रस्तुत, बागमती प्रदेशको कला प्रवद्र्धनमा हेटौँडाको भूमिकासम्बन्धी छलफल हुने छ ।
लोककला संस्कृति झल्कने नृत्य र झाँकी, विशिष्ट कला साधकहरुलाई सम्मानआदि कार्यक्रम रहने छ ।
उद्देश्य
हेटौँडाको प्रमुख ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक सम्पदाको प्राचीन, मौलिक र जीवन्तता कायम रहने गरी ललितकलाको माध्यामबाट तिनको संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याउने मुख्य उद्देश्य रहेको छ ।
यस्तै हेटौँडा क्षेत्रको ऐतिहासिक साँस्कृकित तथा पुरातात्विक सम्पदाहरुको प्राचीन, मौलिक र जीवन्तता कायम रहने गरी स्थलगत चित्रकला कार्यशाला र प्रदर्शनी र यस्ता सम्पदाको दीगो संरक्षणका लागि सन्देश प्रवाह हुने छ ।
बागमती प्रदेशको राजधानी हेटौँडालाई कला नगरीका रुपमा स्थापित गर्न भूमिका खेल्ने तथा हेटौँडाको समग्र कला विकासको पूर्वाधार निर्माणका लागि स्थानीय एवं प्रदेशक सरकारलाई अभिप्रेरित गराउने रहेको छ ।
के हो शनिवारीय स्थलगत कला काईशाला अभियान?
विगत साँढे ५ वर्षदेखि हरेक शनिवार तोकिएको क्षेत्रमा गएर कला सिर्जना र प्रदर्शनी गर्ने यो अभियानको मुख्य धेय कोठाको सानो स्टुडियोमा सिमित कलाकारलाई प्रकृतिको खुला आकास मुनी पुर्याउने, प्राकृतिक सम्पदा, मूर्त अमूर्त, सम्पदा जस्ता विषयमा कला सिर्जना गर्ने तथा प्रोत्साहित गर्ने र नेपाली कलाकारलाई नयाँ उचाइ दिने प्रयास हो ।
अभियानमा सहभागी कलाकारले हरेक शनिवार कलम, कागज, कुचि, रङ र क्यान्भास बोकी कुनै एक निश्चित ठाउँमा पुगेर चित्र कोर्ने गर्छन्। सानो समूहबाट सुरु भएको अभियानले अहिले विशाल रुप लिएको छ ।
अभियानले यसअघि उपत्यकाका काठमाडौँ, ललितपुर, भक्तपुरलगायतका विभिन्न सम्पदा क्षेत्रमा पुगेर चित्रकला कार्यशाला गरी चित्र प्रदर्शनी गरिसकेको छ ।
अभियानमार्फत सिरिजकै रुपमा कर्याशाला सञ्चालन गरिएको थियो । उपत्यका बाहिर पनौँती, काभ्रे, रसुवा, जनकपुर, कुलेखानी, मार्खु, मुक्तिनाथ जोमसोम, कापुचे ताल र मार्दी हिमाल छेउ पुगेर पनि कलाकारले स्थलगत चित्रकला कार्यशाला गरिसकेका छन् । यस्तै हेटौँडा, रुपन्देशी, मोरङ पुगेर पनि कार्यशाला आयोजना गरिएको थियो ।
भिडियो