काठमाडौँ । अब आउनै लागेको मनसुनका समयमा औषत भन्दा बढी पानी पर्ने भएको छ । यस वर्षको मनसुनमा सरदर भन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ । मनसुनमा वर्षा सरदरभन्दा बढी हुने प्रक्षेपण भएकाले चरम मौसमी घटना हुनसक्ने सम्भावना औँल्याइएको छ ।
राष्ट्रिय मनसुन फोरम, २०८१ ले आगामी मनसुनी अवस्थाबारे आज आयोजित सार्वजनिक कार्यक्रममा विभागका मौसमविद् सुदर्शन हुमागाईँले अधिकांश स्थानमा सरदरभन्दा ३५ दशमलव चार प्रतिशतदेखि ५५ दशमलव चार प्रतिशत अधिक वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो ।
यसले विपद्जन्य घटना बढ्न सक्ने जनाउँदै सतर्कता अपनाउन समेत विभागले आह्वान गरेको छ । सुदुरपश्चिम प्रदेशको उत्तरी–पश्चिम भू–भाग, बागमति प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेस प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ दशमलव चार प्रतिशतदेखि ६५ दशमलव पाँच प्रतिशत छ ।
साथै कर्णाली प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको मध्य भू–भाग तथा कोशी प्रदेशको उत्तर–पूर्वी भू–भागमा सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ । न्यूनतम तापक्रमसरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको विभागको अनुमान छ ।
यता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले २४ घण्टाको मौसम पूर्वानुमान प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागलाई निर्देशन दिनुभएको छ । उहाँले कम्तीमा २४ घण्टाको मौसम पूर्वानुमान प्रभावकारी रुपले गर्न सक्ने हुनुपर्ने भन्दै त्यसका लागि के गर्नुपर्छ ? भनेर प्रश्न गर्नुभएको छ ।