काठमाडौँ : मौरीपालक किसानहरुले नेपाली किसानले उत्पादन गरेको महले बजार नपाएको गुनासो गरेका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा जारी पाँचौँ राष्ट्रिय मह मेला २०८१ मा मह प्रदर्शनका लागि आएका मौरीपालक किसानहरुले महले बजार नपाउँदा घरमा टनका टन कम थुपारेर राख्नु परेको दुखेसो गरेका हुन्।
नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले मौरीपालक किसानको अवस्था बेहाल रहेको बताउनुभयो । पहिले मह खोसाखोस रहे पनि अहिले किसानले मह थन्क्याएर राख्नुपरेको सुनाउनुभयो ।
यसअघि किसानले सडकमा मह पोख्ने चेतावनी समेत दिएका थिए । कृषि मन्त्रीसँग छलफलपछि अहिले मह पोख्ने कार्यक्रम स्थगित भएको र अन्तमा बिक्री नै नभए, राज्यले सुनेन भने मह पोख्न बाध्य हुने अवस्था रहेको पौडेलले बताउनुभयो ।
उत्पादित महको ८० प्रतिशत मह काठमाडौँमा बिक्री हुने भएकाले भृकुटीमण्डवमा जारी मह मेलाले उपत्यकाबासीलाई महबारे सकारात्मक सन्देश दिने अपेक्षा गरिएको किसानले बताएका छन् ।
नेपाला मौरीपालन केन्द्रीय सहकारी संघका महासचिव रोशन पण्डितले मह मेलाले उपभोक्तालाई नेपाली मह सेवन गर्नुपर्छ भन्ने सन्देश जाने प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार मह मेलामा ३० भन्दा बढी स्टल राखिएको छ ।
नविकेर धेरै किसानको २ हजार टन जति मह स्टक रहेको बताउँदै पण्डितले यसतर्फ राज्यको ध्यान जानुपर्ने र आयातित महलाई रोक्नु पर्ने उल्लेख गर्नुभयो ।
मौरीपालक किसान पदमप्रसाद अम्गाईँले काठमाडौँका उपभोक्ताले वास्तविक महको स्वाद नै लिन नपाएको बताउनुभयो । उहाँले अहिलेसम्मे उपभोक्ताले आयातित मह खाइरहेकाले वास्तविक नेपालमै उत्पादित मह खान अनुरोध गर्नुभयो ।
मह उत्पादक किसान हेमराज देवकोटाले ३, ४ वर्षदेखि महको बजार खस्किँदै गएको बताउनुभयो ।
मह उत्पादनमा तल्लो र मध्यम वर्ग तथा भूमिहिन किसानहरु सहभागी रहेकाले उनीहरुको दुख सुन्न राज्यसँग उहाँले अनुरोध गर्नुभएको छ ।