काठमाण्डौ । ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ हिजो बुधबार देखि काठमाडौँमा ‘पाँचौँ राष्ट्रिय मह मेला २०८१’ सुरु भएको छ ।
मह उत्पादन र खपत बढाउनका लागि आवश्यक सूचना प्रवाह गर्ने उद्देश्यले मह मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।
स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरूबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजना र नेपाल मौरीपालक महासङ्घ, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेड र व्यावसायिक किट विकास निर्देशनालयको सहआयोजना पाँच दिने मेला आयोजना गरिएको हो ।
मेलामा उत्पादक, बिक्रेता र उपभोक्ताहरुलाई एउटै छानामुनी भेट्न सकिनेछ । गुणस्तरीय नेपाली महका बारेमा जानकारी लिन र दिन मेला महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
मेलामा मह काढ्ने तरिका, महसम्बन्धी सूचनामूलक जानकारी, मौरीपालनका नवीनतम प्रविधिहरूको प्रदर्शनी, मौरीसँग सम्बन्धित सरोकारवालाहरूबीच अन्तरक्रिया तथा गोष्ठी आयोजना हुनेछ ।
भीर मौरी, कठौरी मौरीलगायत स्थानीय र रैथाने मौरीहरूको मह प्रदर्शनी तथा बिक्री वितरण हुनुका साथै मौरी र महसम्बन्धी विभिन्न अनुसन्धानमूलक जानकारी प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
उत्पादकहरुले भने सरकारको कमजारी कम गुणस्तरको मह आयातका कारण किसानको अबस्था बेहाल रहेको महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले बताउनुभयो ।
नेपाल मौरीपालक महासंघका महासचिव रोशन पंडितले मेलाले सकारात्मक सूचना र सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । झण्डै ३५ स्टल यहाँ राखिएको छ ।
मह किसान पदमप्रसाद अम्गाई र हेमराज देवकोटाले उपभोक्ताले असली मह नै खान नपाएको बताउनुभयो । अहिले ठूलो मात्रामा मह स्टल राख्नुपर्नै अवस्था रहेको र कम गुणस्तरको महले बजार लिइरहेको भन्दै चिन्ता प्रकट गर्नुभयो ।
भिडियो