काठमाडौँ । भन्सार छली गरेको ठूलो मात्राको नेपाली र विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरिएको छ ।
ठमेलबाट पक्राउ पर्नेमा चिनियाँ नागरिक याओ ल्याङलिन र नेपाली नागरिक दीपेन्द्र श्रेष्ठ रहेका सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
उहाँले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले सोमवार पक्राउ परेका उनीहरुलाई आज सार्वजनिक गरी आजै थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाएको जानकारी दिनुभयो ।
अवैधरुपमा चाईनिज मुद्रासमेत नेपाल भित्र्याइ भन्सार तथा राजस्व छली गरेको भन्ने गोप्य सूचनाका आधारमा ब्यूरोबाट अनुसन्धानका लागि टोली खटाइएको थियो ।
टोलीले काठमाडौँ महानगरपालिका १७ क्षेत्रपाटीमा रहेको च्याङ सु होटल एण्ड रेष्टुरेन्टबाट चिनियाँ नागरिक याओ ल्याङलिनलाई फेला पारी उनको साथमा रहेको रु ३७ लाख ८१ हजार ३५०, १२ हजार भारु, २ हजार, ५३० अमेरिकी डलर र ३०० यूरो बरामद गरेको छ । यस्तै ३२ हजार बढी युआनसहित २ थान मोबाइल पनि बरामद गरिएको सिआइवीले जनाएको छ।
यस्तै उनको बयानका आधारमा खोजतलास गर्दा ठमेलस्थित होटल छङतुमा महोत्तरी घर भई भक्तपुर बस्ने दीपेन्द्र श्रेष्ठलाई पक्राउ गरेको र उनको साथबाट रु ९ लाख बरामद गरिएको ब्यूरोले जनाएको छ ।
राजस्व छलीको घटना भएकाले उनीहरुलाई आजै थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुरमा पठाइएको छ ।