काठमाडौँ । सरकारले आगलागी पीडितका लागि पनि तत्काल अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ ।
यसअघि भूकम्प पीडितका लागि मात्रै बनाइँदै आइएको अस्थायी आवास अब हरेक विपद्मा परेका परिवारका लागि निर्माण गरिने भएको हो । त्यसका लागि भुकम्पपीडितसरह सरकारले रु ५० हजार दिने छ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले तत्काल आगलागी पीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको जानकारी दिनुभयो ।
आगलागी, डढेलोलगायतका घटनाबाट ठूलो जनधनको क्षति भएको अवस्थामा हिजो साँझ आकस्मिकरुपमा कार्यकारी समितिको बैठक बसेको थियो । विपद्बाट घरबास गुमाएका परिवारलाई अस्थायी आवास निर्माण गर्न सरकारले दिने ५० हजार दुई किस्तामा वितरण हुने छ ।
त्यसका लागि ‘विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८१’ अर्थ मन्त्रालयबाट सहमति लिएर गृह मन्त्रीस्तरबाट निर्णय गर्न समितिले स्वीकृति दिएको छ ।
कार्यविधिअनुसार आगलागी, डढेलो, भूकम्प, बाढी, पहिरो, चट्याङ, हावाहुरीलगायतबाट घरबास गुमाएका परिवारले अस्थायी आवास बनाउन २५ हजारका दरले दुई किस्तामा ५० हजार पाउनेछन् ।
यसअघि जाजरकोट र बझाङ केन्द्रबिन्दु बनाएर गएका भूकम्प प्रभावित पाँच जिल्लाका परिवारलाई यस्तो अनुदान उपलब्ध गराइएको थियो । भूकम्पबाहेकका अन्य विपदमा परेकाहरुलाई यो कार्यक्रममा समावेश गरिएको थिएन । यसपटकबाट भने अस्थायी आवासमा अन्य विपदमा परेकाहरुलाई पनि समेटिएपछि अब जुनसुकै विपद्बाट घरबारविहीन भएकाहरुले अस्थायी आवास पाउने छन् ।