काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख, प्राज्ञ हुने दिनेश्वर महतोको घर चितवनको माडी हो । उनले वन विज्ञानको समेत अध्ययन गरेर पनि आफ्नो व्यवसायिक यात्रालाई कलामा ढालेका छन् ।
सुन्दर मूर्ति बनाउँदा र क्यान्भास रङ्याउँदा औधी आनन्द मान्ने महतोले हालै ‘हिमालयको रहस्य’ शीर्षकको कला प्रदर्शनीमा एउटा क्यान्भासमा रङ भरे ।
६९ जना कलाकारका सिर्जनाहरु कुनै न कुनै सन्देश दिने खालका थिए । त्यस मध्येको एक हो उनको सिर्जना । गएको एक साता प्रतिष्ठानमा उनको सुन्दर चित्र पनि प्रदर्शनमा थियो । जुन चित्रले दिएको सन्देश मार्मिक र मर्मस्पर्शी छ ।
मानिसको मुटुमा सगरमाथा र पृथ्वीलाई जोडेर यी तीनको अन्योन्याश्रित सम्बन्धलाई उनका सिर्जनाले देखाएको छ । मुटुको केन्द्रभागमा पृथ्वी छ । त्यहाँबाट धमनीहरु निस्किएर सगरमाथालाई छुन पुगेको छ । कलामा उनले दिएको विम्बात्मक प्रस्तुतिले कला पारखीको मन छोएको थिो ।
जब स्वच्छ मुटुका धमनीहरुबाट स्वच्छ रगत बग्छ, तब मात्रै मानव जीवनको अस्तित्व रहन्छ । त्यही मुटु स्वच्छ बनाउन स्वच्छ प्रकृति नभई हुन्न । स्वच्छ वातावरण हुनै पर्छ । वातावरण सफा भएन भने मुटु बिग्रिँदै जान्छ र मानव जीवन समाप्त हुन्छ । उनले त्यो मुटु जोगाउने हो भने पहिले पृथ्वीलाई हरियाली पार्नुस् भनेर कलामार्फत विश्व समुदायलार्ई आह्वान गर्ने गरी चित्र सिर्जना गरे।
कलाकार महत्तो भन्छन्, “अब पृथ्वीलाई मुटुजस्तै स्वच्छ चाहने हो भने स्वच्छ हिमाल चाहिन्छ किनकी पानीको श्रोत भनेको त हिमाल नै हो, स्वच्छ जीवन र स्वच्छ पृथ्वीका लागि हिमाल महत्वपूर्ण छ, तर हिमालबाट हिउँ पग्लिँदै गएकाले खतरा बढ्यो है, हामी सचेत होऔँ भन्ने सन्देश हो ।”
विश्व जलवायु परिवर्तनले प्रभावित भइरहेको र यही विषयमा संयुक्त राष्ट्र संघका सभा सम्मेलनमा सभा सम्मेलनमा महत्वपूर्ण भएर प्रवेश हुने विषयलाई उनले एउटा क्यान्भासमा उतारेर हिमाल जोगाउन विश्वलाई अनुरोध गरेका छन् ।
त्यो हिमालको सौन्दर्य, संस्कृति, रहनसहन र अमुल्य प्राकृतिक सम्पत्तिलाई बचाउन सकियो भने हामी हामी बाँच्न सक्छौँ है भनने शक्तिशाली सन्देश उनको कलाले दिएको छ ।
अघिल्लो वर्ष सगरमाथा बेसक्याम्म र अन्नपूर्ण बेसक्याम्पमा पुगेर संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसले हिमाल जोगाउन विश्व समुदायलाई अपिल गरेका थिए ।
त्यसपछि कोप–२८ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व समुदायलाई हिमाल जोगाउनकै लागि आव्हान गरे । महत्तोको सिर्जनाले मन र मुटुलाई छुने गरी त्यही सन्देश छरेको छ । उनले बनाएको दृष्य भाषाले औद्योगिक राष्ट्रहरुलाई चेतावनी र खबरदारी समेत गरेको छ ।
महतोलाई यो कन्सेप्ट कसरी आयो, उनकै भाषामा
कलाकार दिनेश्वर महतोले बनाएको कला
त्यो कन्सेप्ट बनाउने वेलामा धेरै आउँदैन । विषय पहिल्यै दिएको हो प्रतिष्ठानबाट । कस्तो बनाउनुपर्ला, हिमालको हिउँ मात्रै रहस्य होइन त्यो जोडिने त हाम्रो जीवनशैली हो । वास्तवमा हामीले फेर्ने सास पनि हिमालमा जाँदा छुट्टै हुन्छ नी त । आखिर त्यो त स्वच्छ हावा र पानीले त हो नी भन्ने फिल भयो ।
त्यसपछि सिंगो विश्व औद्योगिकीकरण लगायत कारणले जलवायु परिवर्तन हुँदा तापक्रम आँकलन नै ३ प्रतिशतसम्म बढ्ने सार्वजनिक भइरहेको छ । स्वच्छको प्रतिक भनेको त्यही हिमालय त छ बाँकी । मान्छेले प्रत्यक्ष रुपमा क्षति पुर्याउन त कम नै सक्छन्, जसरी अन्त गरिरहेको छ । तर त्यसको असर भने सिधै हिमालमा पर्छ ।
त्यस विषयमा मैले केही अध्ययन पनि गरेँ ।
टल्किरहेको हिमाल हामीले देख्छौँ । कतिपय ठाउँमा कालो भइसकेको छ । त्यो कालो भएको ठाउँमा सूर्यबाट आएको तापक्रम हिउँमा पर्दा फर्किएर जाने र कालो भागमा पर्दा सोस्ने रहेछ र त्यो कालो भागमा परेको सूर्यको तापले अर्काे ठाउँमा हिट गर्ने रहेछ । त्यसले हिउँ पहिरोदेखि अन्य धेरै गतिविधि हुने रहेछ । त्यसको असर भनेको सामान्य किसान सर्वसाधारणमा धेरै पर्ने रहेछ ।
त्यही हिमाली क्षेत्रका वस्ती र तराईमा बसेर खेती गरेर बस्ने किसानलाई प्रत्यक्ष असर गर्ने रहेछ । हिमालमा भएको परिवर्नतले बढी पानी पर्ने, बढी सुख्खा हुने, बाढी आउनेलगायत गतिविधि हुने हुँदा जनजीवनसँग जोडिने रहेछ भन्ने पनि महसुस भयो ।
बनाउने बेला कतिपय अबस्थामा क्लीक हुन्छ । मैले मुटु र हिमाल जोड्छु, यसमा हिमाल चाहिँ कुन राख्ने भन्ने थियो । फेरि विश्वको उच्च भनेको सगरमाथा नै हो, त्यही राखौँ भन्ने कुरा बनाउँदा बनाउँदै क्लीक भएको हो ।
जलवायु परिवर्तनले सगरमाथामा धेरै नै असर देखिन्छ । अहिलेसम्म चिने जानेको र विश्वकै अग्लो भएकाले पनि त्यसलाई धमनीको माथि राखेर बनाएको हुँ ।