काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा र बागलमती प्रदेशका अध्यक्ष तथा प्रदेशसभा सदस्य सरल सहयात्री आज काठमाडौँमा जारी हिमालयको रहस्य तथा सिर्जनावृत्ति कला प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा पुगेर उहाँहरुले कला अवलोकन गर्नुभएको हो । सो क्रममा उहाँहरुले प्रदर्शनीले विश्वलाई हिमाल जोगाउन आव्हान गरेको बताउनुभएको छ ।
प्रदर्शनी अवलोकनका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता सापकोटाले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परिरहेको असरबारे विश्व चिन्तित भइरहेका बेला कलामार्फत वास्तविक समस्या उजागर गरेर हिमाल बचाउन अर्काे नयाँ सन्देश छरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले सहजै महसुस गर्न सक्ने गरी छिनमै जाडो र छिनमै गर्मी भइरहेकोछ । फेरि हिमालका हिउँहरु पग्लिरहेका छन्। पछिल्लो समयमा देखिइरहेको जलवायु परिवर्तनको यो असरलाई केही भने पनि कम गर्नका लागि सचेतना फैलाउन जरुरी रहेको छ, यस्ता प्रदर्शनीले विश्वलाई सचेत गराउन मद्दत गर्छ ।”
उहाँले सबैले प्रयत्न गरेमा भयावहस्थितिलाई सन्तुलनमा ल्याउन सकिने उल्लेख गर्दै खासगरी शक्तिराष्ट्रहरुले धेरै नै क्षति पुर्याइरहेका बताउनुभयो ।
“त्यसका बारेमा नेपाल सरकारले प्रयत्न पनि गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि कोप २८ मा राम्रोसँग विषय उठाउनुभएको छ”, पूर्वसभामुख सापकोटाले भन्नुभयो, “संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गेटेरेसले सगरमाथा र अन्नपूर्ण बेसक्याम्पमा पुगेरै विश्वलाई नै शक्तिशाली सन्देश र अपिल पनि गर्नुभएको छ । मलाई लाग्छ उहाँको अपिलले पनि प्रभाव पारेको छ ।”
उहाँले त्यही स्तरमा सबै कलाकारहरुले मेहनत गरेको पाइएको र यसले महत्वपूर्ण सन्देश दिएको आफूले महसुस गरेको प्रतिक्रिया दिनुभयो ।
सो क्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष तथा प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले हिमालसँग सम्बन्धित चित्र सिर्जना गरेर जलवायु परिवर्तनको असरलाई कलामा उतार्नु महत्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कला प्रदर्शनीले विश्वलाई नयाँ सन्देश दिन सफल भएको र हिमाल बचाउन आह्वान गरेको छ ।”
इतिहासलाई आजको पुस्ताले कसरी बुझ्छ भन्ने कुरा पनि चित्रले देखाउने हुँदा नेपालको समग्र परिस्थिति, संस्कृति र इतिहासलाई चित्रमा उतारेर हरेक व्यक्तिलाई शिक्षा दिन सिर्जना महत्वपूर्ण माध्याम भएको पनि उहाँले बताउनुभयो । कला सिर्जना र संस्कृतिका विषयमा राज्यको भने ठिक ढंगले ध्यान केन्द्रीत हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो ।
उहाँहरुलाई हिमालयको रहस्य र सिर्जनावृत्ति कला प्रदर्शनीका बारेमा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केली, प्राज्ञ परिषद सदस्यहरु दिनेश्वर महत्तो र सौरगङ्गा दर्शनधारीले जानकारी गराउनुभएको थियो ।
सो क्रममा कला क्षेत्रको विकास, राज्यको प्राथमिकता र यसको महत्वका विषयमा समेत छलफल भएको थियो ।
भिडियो
https://www.facebook.com/samriddhisanchar/videos/1123347708709035