काठमाडौँ : गएको एक वर्षमा विपद्जन्य घटनाबाट ४९३ जनाको मृत्यु भएको छ।
कुल ३१ जना वेपत्ता भएका छन् भने एक हजार ६१६ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
कुल ६ हजार ४०४ वटा विपद्जन्य घटना भएको र त्यसमा परेर ८० हजार ७१६ घर परिवार प्रभाभावित भएका छन् । कुल ५ अर्ब ४२ करोड ५६ लाख बढी आर्थिक क्षति भएको छ ।
यो अवधिमा उच्च उचाई, पहिरो, बाढी, डुंगा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृति विपद, हुरी वतास, भूकम्प, फ्लू, जनावर आक्रमण, हिपहिरो, डढेलो र हिमपातका घटना भएका छन् ।
यसपालि कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा धेरै १५५ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यंकमा उल्लेख छ । त्यसपछि धेरै क्षति आगलागीका कारण भएको प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
मुलुकभर गएको वैशाख १ देखि चैत ३० गतेसम्म आलागीका ४ हजार ६१ घटना भएको छ । त्यसमा परेर १०६ जनाको मृत्यु भएको छ भने ५०६ जना घाइते भएका छन् । कुल ५ हजार १३० परिवार प्रभावित भएका थिए भने आगलागीबाट २ अर्ब ५२ करोड भन्दा बढीको क्षति भएको छ ।
त्यसपछि २५० वटा चट्यांका घटना भएको र त्यसमा परेर ४६ जनाको मृत्यु भएको तथा २२८ जना घाइते भएका छन् । जनावरको आक्रमणबाट ४५ जनाको मृत्यु भएको छ भने २७८ जना घाइते भएका छन् ।
प्राधिकरणको अभिलेखमा उच्च उचाइका कारण १५, पहिरोमा परेर ५०, बाढीबाट १८, सर्पदंशबाट २०, हिमपहिरोबाट १२, वन डढेलोबाट ११ जनाको मृत्यु भएको छ ।