काठमाडौँ । विश्वमा प्रविधिको विकासँग नेपाल प्रहरीले सम्पादन गर्ने कार्यहरूलाई प्रविधिमैत्री बनाउँदै लगेको छ । नागरिकको सेवालाई थप प्रभावकारी बनाउन केही महिना अघि सञ्चालनमा आएको ‘नेपाल प्रहरी मोबाइल एप’ सहयोगी बन्न पुगेको छ ।
स्मार्ट फोन र अन्य मोबाइल उपकरणहरूमा सर्वसाधरण जनताको सहज पहुँचसँगै मोवाइल एपको प्रयोग पनि बढ्दै गएको छ ।
प्रविधिमैत्री परिकल्पना अनुरुप रूपान्तरण हुने क्रममा विभिन्न किसिमका सूचना र सन्देशहरू संकलन तथा सम्प्रेषण गर्न नेपाल प्रहरीले विसं २०७६ असोज २४ गतेबाट ‘नेपाल प्रहरी मोबाइल एप’को सुरुवात गरेको थियो।
एपको प्रयोगले आमनागरिक आफू पीडित भएको अवस्थामा होस् वा कुनै घटनाको प्रत्यक्षदर्शीको रुपमा प्रहरीलाई स्थानसहितको सूचना प्रदान गर्न सक्ने भएका छन्। प्रहरीलाई पनि सो स्थानमा छिटो छरितो रुपमा सहजै पुगी प्रहरी सेवामा प्रभावकारिता ल्याउन मद्दत पुगेको प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
साथै नेपाल प्रहरी मोबाइल एपद्वारा अडियो, फोटो र भिडियो जस्ता प्रमाणजन्य सूचना प्राप्त गरी अपराध अनुसन्धानमा सहजताका साथै प्रहरी कार्यलाई अझै चुस्त राख्न समेत मद्दत पुगेको उहाँले बताउनुभयो ।
जनशक्ति न्यून रहेको अवस्थामा मोबाइल एपको प्रयोग गरी आम नागरिकहरूले प्रहरीसँग सम्बन्धित सूचना जीपिएसमा आधारित रहेर फोटो, भिडियो, अडियो र टेक्सट सूचनासहित खबर गर्न सकिने प्रावधान रहेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता ढकाल भन्नुहुन्छ, “नेपाल प्रहरीको काम कारबाहीलाई प्रविधिमैत्री सेवाको रुपमा संस्थागत विकास गर्ने उदेश्य अनुरुप पाइलट प्रोजेक्टको रुपमा एप सञ्चालन भएको हो ।”
हाल ७७ वटै जिल्लाहरूमा प्रहरी एपमार्फत आएका गुनासा र सूचनाका आधारमा नजिकैको प्रहरी कार्यालबाट तुरून्त प्रहरी परिचालन गर्ने व्यवस्था गरिएको छ ।
समुदायमा घट्ने अपराधिक कृयाकलाप, विभिन्न घटनाहरू तथा सूचनाहरूलाई छिटो छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधिलाई तत्काल नियन्त्रणमा लिनुका साथै समग्र शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न एपले सहयोगी भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो ।
यस एपको निर्माण तथा व्यवस्थापन नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयले गर्दछ ।
निर्देशनालयका प्रहरी उपरीक्षक सरोज शाक्य यो एप हरेक नागरिकले प्रयोग गरी आफू सुरक्षित हुन र प्रहरीलाई पनि सघाउन सक्ने बताउनुहुन्छ । हाल केही सुविधाहरू थप गरी एप परिमार्जन गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।