काठमाडौँ । काँकडभिट्टा बस्ने कलाकार तेटेन शेर्पा नेपाल र भारतमा कला सिर्जना गर्दै आउनुभएको छ ।
उहाँ नेपाल र भारतका कलाकारका लागि सम्बन्धसेतु नै बन्नुभएको छ । बेलाबेलामा भारतमा जानुहुन्छ चित्र सिर्जना गर्नुहुन्छ फेरि नेपाल आउनुहुन्छ र सिर्जना गर्नुहुन्छ । यसरी जाँदा आउँदा उहाँलाई नेपाल भारतका भूगोल, संस्कृति, रहनसहन, मानिसको अनुहार, भेषभूषा एकै लाग्छ ।
उहाँले भारतीय कलाकारसँगै काठमाडौँ आएका बेला नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा जारी कला प्रदर्शनीका क्रममा सम्बन्ध विषयमा चित्र सिर्जना गर्नुभयो । उहाँले आफ्नो मावली घर भारतको दार्जिलिङ भएकाले मेची नदीलाई बीचमा पारेर दुई देशको दृष्य कैद गरी आपसी सम्बन्धलाई प्रस्तुत गर्नुभयो ।
“मैले दुई देशको सम्बन्ध देखाउन खोजेको हुँ । माओली घर भारतको दार्जिलिङ हो । त्यसैले मेचीलाई साछी राखेर नेपाल र भारतको दृष्यचित्र कैद गरेको छु”, उहाँले भन्नुभयो ।
कलाकार शेर्पाले आफ्नो र मावली घरको सम्बन्ध कस्तो हुन्छ, त्यस्तै सम्बन्ध नेपाल र भारतबीचको छ भन्ने कुरा पस्कन खोजेको बताउनुभयो ।
कार्यशालामा अर्का कलाकार डिबी राईले कार्यक्रम अनुसार कै विषयमा चित्र सिर्जना गर्नुभयो । उहाँले आदिवासि किराँत संस्कृतिलाई प्रस्तुत गर्नुभयो । जुन नेपाल र भारतमा छ । राई लिम्बुको संस्कृति नेपाल र भारतको सिक्किम, दार्जिलिङमा पनि छ । खर्सांङ कालिङपोङमा पनि उस्तै छ ।
त्यसैले उहाँले सिर्जनामा किराँतेश्वरको मूर्तिलाई आधार बनाएर फ्यूजन गरिएको छ । राई भन्नुहुन्छ, “एकै भाषा सँस्कृति भएपछि सम्बन्ध यसै बलियो हुने नै भयो, मेरो सिर्जनाले पनि त्यही भन्छ ।”
अर्का कलाकार एनबी गुरुङले अमूर्त चित्र सिर्जना गरी दुई देश बीच सदिआँैदेखिको भाइचारा र सम्बन्धलाई प्रस्तुत गर्नुभयो । भारतका कलाकारको नेतृत्व गर्दै आउनुभएकी दीपा राईले महिलालाई विम्ब बनाएर दुई देशको भाइचारालाई प्रस्तुत गर्नुभयो ।
कार्यशालामा सम्बन्धलाई फरकफरक दृष्टिकोणबाट भारतीय कलाकारहरु पासाङ शेर्पा, कमल खालिङ, धीरज प्रधान, सागर सुब्बा, विमला प्रधान, विके सुब्बा, कृष्ण राई, छेन्डुप लेप्चा, विकाश सुब्बा, टीका प्रधान, रिचर्ड जी लेप्चा, टेसेटेन शेर्पाले जलरङका माध्याबाट क्यान्भास सजाउनुभयो ।
उहाँहरुलाई नेपाली कलाकारले साथ दिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौँमा नेपाल र भारतका कलाकारको सहभागितामा सम्बन्ध शीर्षकमा तीन दिने कला कार्यशाला र प्रदर्शनी आयोजना गरेको छ । कार्यशालाका क्रममा आज कलाकारहरु भक्तपुरको दरवार स्क्वायर क्षेत्रमा पुगेका छन् ।
कला र सिर्जनाका माध्यामबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो ।
कुलपति हार्तम्छाली कलाको भाषा सीमाविहीन सम्बन्ध जस्तै हुने बताउनुहुन्छ । उहाँले सिर्जनालाई राजनीतिक सीमाले कहिल्यै नछेक्ने हुँदा सिर्जनाको भाषा विश्वमै अब्बल हुने बताउनुभयो ।
कार्यशाला र प्रदर्शनीमा १३ जना भारतीय र २२ जना नेपाली कलाकार सहभागी छन् । उनीहरुले बनाएका सिर्जनाहरु नक्सालमा आज पनि प्रदर्शन भइरहेको छ । मुख्यगरी भारतको सिक्किम, दार्जिलिङ र कालिङपोङका कलाकार यहाँ आएका छन् ।