काठमाडौँ । श्रीलङ्कन नागरिकहरूलाई युरोप ठउोने भन्दै नेपाल ल्याएर बन्धक बनाउने कार्यमा संलग्न ४ जना पाकिस्तानी पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नहकुल पोखरेलका अनुसार काठमाडौँका विभिन्न होटलबाट ४ जना श्रीलङ्कन नागरिकको उद्धार पनि गरिएको छ ।
उक्त गैरकानुनी कार्यमा संलग्न पाकिस्तानी नागरिकहरू जुबेर अम्जाद, शाहजेहान तानबीर, मलिक अब्दुल हमिद र आरिफ मसिहलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारका लागि क्यानडा, रोमानिया, ग्रीसलगायतका देशहरूमा पठाइदिने विश्वास दिलाई श्रीलंकाबाट नेपाल ल्याई पीडितहरुलाई उपत्यकाका विभिन्न स्थानमा रहेका होटलमा राखेको अवस्थामा उनीहरुको उद्धार गरी गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।
ती गिरोहले पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिई विभिन्न किसिमका धाकधम्की दिइ, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्कसमेत गर्न नदिएर बन्धक बनाइएको पाइएको कार्यालयका प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरुले पीडितको साथमा रहेको नगदसमेत लिई जबर्जस्ती बन्धक बनाई राखेको अवस्थामा कार्यालयबाट खटिएको टोलीले पीडितहरूलाई उद्वार गरेको हो ।
गएराती पक्राउ परेका उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौँ पठाइएको उहाँले बताउनुभयो ।
यसअघि यसैगरी युरोप पठाइदिने बहानामा ५ जना बंगलादेशी नागरिकलाई काठमाडौँमा ल्याएर बन्धक बनाइएको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । सो क्रममा प्रहरीले ५ जनाको उद्धार पनि गरेको थियो ।
पछिल्लो समयमा नेपालबाट युरोप तथा विभिन्न मुलुक जान सजिलो हुने भन्दै विदेशी नागरिकलाई नेपाल ल्याएर विदेशीहरुले नै बन्धक बनाउने घटना देखिन थालेको छ ।