चितवन । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई भरतपुर महानगरपालिका कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ ।
मंगलबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमका बीच अध्यक्ष दाहाललाई स्वागत तथा सम्मान गरिएको हो । फागुन २९ गते उहाँ राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएसँगै पहिलो पटक गृह जिल्ला चितवन आइपुग्नु भएको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रियसभाको गरिमालाई उँचो पार्ने गरी काम गर्ने उल्लेख गर्नुभयो । संघ, प्रदेश र स्थानीय तहलाई आवश्यक कानुन निर्माण गर्न राष्ट्रिय सभाको अध्यक्षको हैसियतले पुलको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।
‘अहिले संविधान कार्यन्वनको चरणमा छ, उहाँले भन्नुभयो, ‘केही महत्वपूर्ण ऐन, कानुनहरु निर्माण हुन बाँकी छन् । ऐन कानुनहरु नबन्दा काम गर्नलाई गारो भइरहेको छ । निजामति ऐन, प्रहरी समायोजन ऐन तथा टिआरसी सम्बन्धी कानुन छिटो निर्माण गर्न जरुरी रहेको छ ।’
अध्यक्ष दाहालले राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएसँगै देश निर्माणको अभियानमा बढ्न थप जिम्मेवार बन्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ।
यस्तै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरले सम्माननीय प्रधान्त्रीमन्त्री, राष्ट्रिय सभाको अध्यक्ष र माननीय उपप्रधान तथा गृहमन्त्री पाउनु आफैमा गर्वको विषय भएको बताउनुभयो । इतिहासमा यस्तो अवसर विरलै मात्रमा पाइने भएकाले यो अवसर र चुनौती दुवै भएको उहाँको भनाइ थियो ।
प्रमुख दाहालले राष्ट्रियसभा अध्यक्षले संविधानको रक्षा, यसको सही कार्यन्वन र जनताको पक्ष राम्रोभन्दा राम्रो काम गर्न शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले हिजोका दिनमा स्थानीय तहमा देखिएको ऐन कानुनसम्बन्धी कठिनाइलाई पन्छयाउनलाई समान्वयात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
चितवन जिल्लालाई वैकल्पिक राजधानी बनाउन नसकिए पनि आर्थिक राजधानीको रुपमा विकास गर्न सबै पक्षको साथ र सहयोग अपरिहार्य रहेको उहाँले बताउनुभयो ।