काठमाडौँ । चितवनको कालिका नगरपालिकाका प्रतिनिधिमण्डलले आज उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गरी समग्र कालिकाको विकास र समृद्धिका विषयमा ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शमर्मा ओलीलगायतसँग उक्त टोलीले संयुक्त भेटघाट गरेको हो ।
भेटका क्रममा प्रधानमन्त्री दाहालले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आउँदो बजेटले सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलले गरेको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो ।
चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न सकेको छैन । भेटमा सहभागी कालिका नगरपाकिाका प्रमुख विनोद रेग्मीले शक्तिखोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिको विकास र समृद्धि तथा समावेशी शिक्षालगायतका विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको बताउनुभयो ।
भेटमा प्रधानमन्त्री दाहालले औद्योगिक क्षेत्र स्थापनाको विषय आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिँदै भेटघाटमा सहभागी हुनुभएका अर्थमन्त्री वर्षमान पुनलाई रोकिएको बजेट निकासका लागि निर्देशनसमेत दिनुभएको नगरप्रमुख रेग्मीले बताउनुभयो ।
भेटघाटका क्रममा एमाले अध्यक्ष ओलीसहित अर्थमन्त्री वर्षमान पुन, नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सदस्य कपिल पोखरेल, समावेशी शिक्षाविज्ञ तथा अभियन्ता डा बाबुराम ढुंगाना, बहिरा महासंघका निवर्तमान अध्यक्ष केपी अधिकारीलगायतको सहभागिता थियो । चितवनबाट प्रमुख रेग्मी नेतृत्वको प्रतिनिधिमण्डल आज काठमाडौँ आएको हो ।
सो भेटघाटका क्रममा त्रिशुली डाइभर्सन, सामान्निकरण अनुदान, समावेशी स्कुल स्थापनालगायत समग्र नगरको विकासका विषयमा प्रधानमन्त्री दाहाल समक्ष पहलकदमीका लागि अनुरोध गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।