काठमाडौँ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पहिलो अभ्यासस्वरुप संघीयता मोडलमा शुरु गरेको प्रदेशस्तरीय ललितकला प्रदर्शनीअन्तरगतको अन्तिम कार्यक्रम आजबाट बागमती प्रदेशस्तरीय प्रदर्शनी हुँदै छ।
देशका ६ वटा प्रदेशमा सम्पन्न भइ काठमाडौँको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमै आज सोमबारबाट आयोजना हुन लागेको प्रदर्शनीमा २५० भन्दा बढी कलाकृति समावेश हुने निश्चित भएको प्रतिष्ठानले आज जानकारी गराएको छ ।
प्रदेशको अन्तिम कार्यक्रम बागमती प्रदशेशस्तरीय कला प्रदर्शनीको सबै तयारी पुरा भएको पनि प्रतिष्ठानले जनाएको छ । प्रदर्शनीमा २३० जना कलाकारका २५० भन्दा बढी कलाकृति समावेश गरिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिनुभयो ।
प्रदर्शनी यही चैत १६ गतेसम्म आयोजना चल्ने छ। प्रदर्शनीमा बागमती प्रदेशका सबै जिल्लाबाट कलाकारले भाग लिएका पनि उहाँले बताउनुभयो ।
‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल नाराका आयोजित ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’बाट छानिएका कलाकृतिलाई समेटेर आगामी जेठ १५ देखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ आयोजना गरिँदै छ ।
यसअघि काठमाडौँमा मात्रै राष्ट्रिय प्रदर्शनी हुँदै आएकामा यसपटकबाट प्रादेशिक प्रदर्शनीको पनि थालनी हुँदा देशभरी नै कला प्रवद्र्धनमा महत्वपूणै उपलब्धी हासिल भएको महसुस भएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिनुभयो । संघीयता कार्यान्वयन भएपछि प्रतिष्ठानले त्यसलाई पहिलो पटक अभ्यासमा ल्याएको हो ।
यसअघि कर्र्णली प्रदेशमा फागुन १७ गतेदेखि २१, गण्डकीमा फागुन १९–२३, सुदूरपश्चिमममा फागुन २०–२४, लुम्बिनीमा फागुन २२–२६, कोशीमा फागुन २९–चैत ३ र मधेसमा चैत २–५ गते प्रदर्शनी सम्पन्न भइसकेको छ ।
‘नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान ऐन–२०६४’ को दफा ५ को खण्ड (ट) को आधारमा स्वीकृत ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि–२०८०’ र ‘प्रादेशिक ललितकला प्रदर्शनी कार्यविधि–२०८०’ बमोजिम सातै प्रदेशमा कला प्रदर्शनी भएको र प्रादेशिक ललितकला प्रदर्शनीमा प्रतियोगी कलाकृतिहरु नै २०८१ जेठ १५ गते काठमाडौँमा हुने राष्ट्रिय प्रदर्शनीमा सहभागी हुन पाउने नीतिगत व्यवस्था गरिएको छ ।
कुलपति हार्तम्छालीले यस पटकदेखि राष्ट्रिय ललितकला प्रदर्शनीका लागि प्रदेशबाटै प्रतिस्पर्धा गरी कलाका पूरक गतिविधिहरूका साथै बहुुआयामिक पाटालाई समेट्न खोजिएको बताउनुभयो ।
यसपटक सम्मान र मूूल्याङ्कनमा पनि विशेष सुुविधा, विविध विधा÷उपविधा र क्षेत्रगत पुुरस्कार सङ्ख्या तथा रकम पनि विशेष थप गरिएको छ । त्यसमा छायाँमा परेका प्रतिभाहरूको समावेशिता सहभागिता हुुने सिर्जनात्मक कला क्रियाकलापहरू पनि समावेश गरिने प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले, थुम्केलीले बताउनुभयो ।
प्रदर्शनीमा चित्रकला (समसामयिक, परम्परागत, मुद्रणकला छायाचित्र (प्रिन्टमेकिङ्ग) कला), मूर्तिकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला (वास्तुकला (शास्त्रीय), सिर्जनात्मक छविकला, भिडियो आर्ट, प्रतिस्थापन कला, भावभङ्गिमा कला, मौलिक दृष्टान्त चित्रकला, कार्टुन, क्यारिकेचर, पोस्टर र डिजिटल कला), लोककला, हस्तकला विधाअन्तर्गत तोकिएको नियममा रही कलाकारले सहभागिता जनाएका छन्।