काठमाडौँ : बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि बयान लिन सुरु भएको छ ।
उक्त प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) चौधरीमाथि अनुसन्धान भइरहेको संसद् सचिवालयलाई जानकारी गराएलगत्तै आज बयान लिन शुरु गरिएको हो ।
सिआइबीले हिजो बुधबार मात्रै संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई सांसद चौधरीमाथि अनुसन्धान शुरु भएको भनी पत्र बुझाएको थियो ।
त्यसको भोलिपल्ट आज विहानै जिल्ला सरकारी वकिल कार्यालयममा उहाँसँग बयान लिन थालिएको सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले राससलाई जानकारी दिनुभयो । उहाँ आज विहानै सिआइबीमा पुग्गेर आवश्यक जानकारी लिने काम भएको र त्यसपछि जिल्ला सरकारी वकीलय कार्यालयमा लगेर बयान लिइएको ज्ञवालीले बताउनुभयो ।
एआइजी ज्ञवालीले उहाँ भाग्ने अवस्था नरहेको र प्रमाण नष्ट गर्ने अवस्था पनि नरहेकाले पक्राउ गर्नुपर्ने अवस्था नदेखिएकाले सिधै बयान लिइएको जानकारी दिनुभयो ।
सरकारको निर्णय नभई बाँसबारीको १० रोपनी जग्गालाई एक जना अध्यक्षले एकल निर्णय गरेर कुनै कम्पनीको नाममा शेयरको रुपमा दिई पछि प्रालिमा कन्भर्ट गरेर हिनामिना गरिएको पाइएको भन्दै उक्त विषयमा सिआइबीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार सो समयमा सांसद चौधरी च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक समिति सदस्य हुनुहुन्थ्यो ।
उक्त जग्गा प्रकरणमा बुधबार मात्रै सिआइबीले विनोद चौधरीका भाई वसन्त चौधरीलाई पनि घटनाविवरण कागज गरेको छ । ज्ञवालीले उहाँमाथि पनि घटनाविवरण कागज गराइएको जानकारी दिनुभयो ।
शुरुमा च्याम्पियन फुटवेयर लिमिटेड र पछि त्यसैलाई प्रालिमा लगेर जग्गा हिनामिना गरेको आरोपमा सिआइबीले व्यवसायी अरूण चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र अर्का सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो । त्यसको केही दिनपछि उहाँहरुलाई हाजिरी जमानीमा छाडिएको थियो ।