काठमाडौँ : आर्थिक अपराध नियन्त्रणमा सक्रिय राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै रु ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फम तथा व्यवसायीहरुविरुद्ध मुद्दा चलाएको छ ।
विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको जरिवानासमेत हुन आउने ७९ करोड बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दावीसहित उच्च अदालतमा मुद्दा आज दर्ता गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सन्दीप ट्रेडर्सका मुख्य कारोबारी दयाशंकर चौधरी र उक्त फर्मका प्रोपाइटर विमलावती चौधरीलाई बिगो मूल्याङ्कन गर्दा १२ करोड ८५ लाखभन्दा बढी विगो बराबरको राजस्व छली गरेको निष्कर्ष निकाल्दै बिगो बराबरको जरिवाना र हदैसम्मको कैद सजाय माग गरी मुद्दा दर्ता गरिएको छ ।
उक्त ट्रेडर्सको कारोबारसम्बन्धी कागजात तथा विरणहरुको विश्लेषण गर्दा उक्त फर्मले विसं २०७९ भदौ देखि २०८० भदौसम्ममा भिसिटिएस प्रणालीमा प्रविष्टी गरेको विवरणमा ६ लाख ४९ हजार ४०० बराबरको मालवस्तु् खरिद गरेको देखिएको तर भन्सार प्रज्ञापनपत्रलगायतका अन्य विश्वसनीय स्रोत विना नै करोडौँको मालवस्तु बिक्री गरेको देखिएको अधिकारीले बताउनुभयो ।
उक्त ट्रेडर्सले भन्सार चोरीपैठारी गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन) २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरेका पाइएको विभागले आज विवरणहरु सार्वजनिक गर्दै जानकारी दिएको हो ।
यस्तै विभागले अन्य प्रतिवादीहरु गुरु ईम्पेक्सका प्रोपाइटर सीताराम रौनयार, शुभश्री इन्टरप्राइजेजका रिजवान अन्सारी, न्यु कञ्चन इन्टरप्राइजेजका मिराकुमारी श्रीवास्तव, एसपी कन्सर्नका प्रभुशंकर रौनियार न्यु एसकुमार ईन्टरनेशनलका रामछत्री कलवारले गरेको कारोबारका सम्बन्धमा छानबिन गर्दा राहुल दुवेदीसहितका ती फर्मका प्रोपाइटरहरु तथा भारतीय नागरिकसमेतको मिलेमतो र संलग्नतामा ठूलो परिमाणको मालवस्तु भन्सार छली नेपाल भित्रयाई चोरी पैठारी भएको पाइएको विभागको निष्कर्ष छ ।
विभागले प्रयोगमा ल्याएको भिसिटिएस प्रणालीमा राहुलकुमार दुवेदीले प्रविष्ट गरेको विवरण र आन्तरिक राजस्व विभागले सञ्चालन गरेको प्रणालीमा प्रविष्ट गरेको विवरणबाट प्राप्त भ्याट रिटर्न अनुसन्धान तथा विष्लेषणमा विभागले उक्त तथ्य पत्ता लगाएको थियो ।
सो भन्सार छली मालवस्तु चोरी पैठारीको आरेपमा विभागले राहुलकुमार दुवेदीको हकमा १७ करोड ३८ लाख, सीताराम रौनियारको हकमा एक करोड ८२ लाख, रिजवान अन्सारीको हकमा २ करोड ११ लाख, मिराकुमारी श्रीवास्तवको हकमा २ करोड ११ लाख, प्रभुशंकर रौनियारको हकमा १ करोड ७८ लाख र रामछत्री कलवारको हकमा १ करोड ७७ लाख बिगो बराबरको भन्सार छली गरेको निष्कर्षसहित मुद्दा दर्ता गरिएको विभागले जानकारी दिएको छ ।
उनीहरुविरुद्ध पनि बिगो असुल गरी बिगो बराबरको जरिवाना र हदैसम्मको कारबाहीको माग गरिएको विभागले जानकारी दिएको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले विभागले पछिल्ला दिनहरुमा गम्भिर प्रकृतिका राजस्व छलीका घटनाको अनुसन्धान अघि बढाएको बताउनुभयो । उहाँका अनुसार सोही क्रममा उक्त ठूलो परिमाणको राजस्व छलीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
गत साउन २ मा ब्रेक शुमा राखेर ल्याइएको तसकरीको ६१ किलो सुन भन्सार पास भएर बाहिर जाने क्रममा सिनामङ्गलबाट विभागले नै बरामद गरेको थियो । उक्त सुन प्रकरणमा अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ ।