काठमाडौँ । कपिलवस्तुको पकडीबाट आज विहान प्रहरीले नियन्त्रणमा लिएका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष, पूर्व सभामुख कृष्णबहादुर महरालाई यति एयरलाइन्सबाट केहीबेर अघि काठमाडौँ ल्याइएको छ ।
सुन प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले महरामाथि अनुसन्धान अघि बढाउँदै छ ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले महरालाई काठमाडौँ ल्याइएको र आजै म्याद थपसहित आवश्यक अनुसन्धानका काम अघि बढ्ने राससलाई जानकारी दिनुभयो ।
यसअघि सुन प्रकरणमा अनुसन्धान गरेको सिआइबीले महरालाई बयान कागज गराएर छाडेको थियो ।
त्यसबेला अनुसन्धानमा त्रुटी भएको सुनको अबैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले औँल्याएपछि सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई केही अघिको मन्त्रिपरिषद्को निर्णयले प्रहरी मुख्यालयमा सरुवा गरिसकिएको छ ।
त्यहाँ प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई पठाइएको छ ।
त्यसबेलाका सुन प्रकरणको अनुसन्धान टोली संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापा तथा प्रहरी नायव उपरीक्षकद्वय रुगम कुँवर र दुर्गा दाहाललाई हेडक्याटर तानिएको छ ।
उक्त प्रकरणमा अहिले सिआइबीका नयाँ प्रहरी टोलीले अनुसन्धान गर्दैछन् ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र सुनको अबैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएको भोलिपल्टै महरालाई नियन्त्रणमा लिइएको हो ।
मन्त्रिपरिषद्ले उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । सोही आधारमा प्रहरीले अनुसन्धान तीव्र पारेको हो ।
गत साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग नाम जोडिएका केही व्यक्तिहरुलाई त्यसबेला सिआइबीले बयान कागज गरेर मात्रै छाडेको थियो । त्यसमध्य महरा पनि एक हुनुहुन्थ्यो ।
उक्त प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश दिपेश पनि केही दिन अघि पक्राउ परिसकेका छन् ।