काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगल ‘तारेभिर’मा फागुन २४ गते एक १८ वर्षकी किशोरीको शव दुईवटा हात मात्र देखिएको अन्य भाग गाडिएको अवस्थामा फेला पर्यो ।
अनुसन्धानका क्रममा उक्त शव सोही ठाउँ बस्ने वर्ष १८ कि सुष्मा लामाको भएको पुष्टि भयो । तर कसले यसरी हत्या गर्यो भन्ने खुलेको थिएन । अपरेशन ‘तारेभीर’ चलाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले त्यसको एक महिनाभन्दा बढी समयपछि अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।
उनी हराएको २०८० माघ २४ गते हो । खोतलासका क्रममा एक महिनापछि उनको शव २०८० फागुन २५ गते फेला परेको हो । उनको घरबाट झण्डै १ किलोमिटर टाढा कलेज जाने बाटोबाट १० मिटर तल फेला परेको कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मी बताउनुहुन्छ ।
शुरुमा मान्छे पत्ता लगाउन एक महिना लगाएको प्रहरीले अब हत्याका अभियुक्त पत्ता लगाउन ठूलै चुनौती थियो । अपरेशन तारेभिरको टोलीले सुक्ष्म अनुसन्धान गर्दै जाँदा छिमेकी २१ वर्षीय रुपेन्द्र लामाले घटना घटनाएको पत्ता लगायो र केही दिनको अन्तरालमै उनलाई पक्राउ गरिएको रेग्मीले सुनाउनुभयो ।
आज प्रहरीले उनलाई सार्वजनिक गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, बौद्ध काठमाडौँ पठाइएको छ ।
यसरी भएको थियो घटना
गत माघ २२ गते सुष्मा घरबाट कलेजका लागि हिँडेकी थिइन् । त्यसको भोलिपल्ट माघ २३ गते सुष्माले प्रयोग गर्ने फेसबुक आइडीबाट आफूले विवाह गरेको भनि बेहुलाबेहुलीको कपडा लगाएको फोटो (बेहुलाको फोटोमा अनुहार छोपेको) पोष्ट भएको थियो । क्याप्सनमा लेखिएको थियो, ‘सरी, सबैलाई, तीन दिनमा म आउँछु ।’
गाउँमा तीन दिन खोजतलास गर्दा फेला नपरेपछि पीडितका परिवारले माघ २५ गते प्रहरीमा दिएको उजुरीका आधारमा खोजतलास शुरु भएको थियो ।
माघ २६ गते सुष्मा लामाले प्रयोग गर्ने नम्बरबाट निजको दिदी नाता पर्ने बिन्दा तामाङको मोबाइलमा ‘किन प्रहरीमा रिपोर्ट गरेको म तीन दिनमा आउँछु भन्दाभन्दै । हामीलाई जेलमा हालेर के पाउँछौ, अब टाढा गएर बस्ने हो कसैले पनि चिन्ता लिनु पर्दैन’ भन्ने म्यासेज आयो ।
प्रहरीले त्यही २ वटा महत्वपूर्ण क्लुका आधारमा अपरेशनलाई साँघुरो बनाउँदै लगेको थियो । त्यसपछि उनी प्रहरीको निगरानीबाट भने उम्कन सकेनन् । अन्ततः पक्राउ परे ।
अनुसन्धानमा आरोपी रुपेन्द्र लामाले मृतक सुष्मा लामालाई विगत ८ महिनादेखि मन पराउँदै आएको पाइएको छ । उनीहरु दुबैजना घाँस काट्न, बाख्रा चराउन जंगलमा विगत १÷२ वर्षदेखि सँगै जाने÷आउने गरेका थिए ।
उनीहरुबीच फोन सम्पर्क तथा कुनै पनि सामाजिक सञ्जालमा कुराकानी भने हुने गरेको थिएन । भेटको बेला मात्र कुराकानी हुने गरेको पाइएको रेग्मी बताउनुहुन्छ ।
अनुसन्धानका क्रममा रुपेन्द्रले सुष्मालाई एकतर्फी माया गर्ने गरेको र पटकपटक प्रेम प्रस्ताव समेत राखेको तर सुष्माले अस्विकार गरेको पाइएको छ ।
त्यसपछि रुपेन्द्र बढी आक्रामक भएका पाइएको छ । अनि रुपेन्द्र सुष्मालाई ८ दिनसम्म बाटोमा ढुकेर बसेका थिए। उनले घटना भएको ४ दिन अघिदेखि खाल्डो खन्न प्रयोग भएको फलामको कुटो समेत साथमा लिई हिडेका र हत्यापछि पुरेको स्थान पहिले नै रेकी गरेको समेत पाइएको छ ।
अपरेशन तारेभीरका एक अनुसन्धान अधिकृत भन्छन्, “घटनाको दिन सुष्मा एक्लै कलेज गइरहेकी थिइन् । त्यसबेला रुपेन्द्रले बाटो छेकी प्रेम प्रस्ताव राखेका थिए । सुष्माले ईन्कार गरेकाले पछाडीबाट घाँटी थिची अचेत बनाई पहिले नै रेकी गरेको स्थानमा लगी टाई र जुत्ताको तुनाले घाँटीमा कसेको र हातलाई कम्बरबाट पेटी निकाली बाँधेर मारेपछि कुटोले खाल्डो खनी पुरेका पाइएको छ ।”
त्यसपछि उनले सुष्माको मोबाईल र किताब÷कापी आफैँले लिई घर गए। अनी घरमा पुगेर अर्कैको फोटो इडिट गरी बेहुलाबेहुली बनाएर सुष्माको फेसबुकबाट हालेको पाइएको छ ।
उनले प्रहरीमा निवेदन दिन गएको कुरा सुष्माकी आमाले माघ २५ गते रुपेन्द्रकै घरमा कुराकानी गरेपछि चाल पाएका थिए। त्यसपछि माघ २६ गते उनले सुष्माको मोबाइलबाट सुष्माको दिदीको फोनमा त्यसरी एसएसमएस पठाएको खुल्न आएको छ ।
त्यसपछि अन्य फोन कल नगरी उनले मोबाइल अफ गरेर राखेको अबस्थामा घटनामा प्रयोग भएको कुटोका साथै सुष्माका किताब, कपि र मोबाइलसमेत प्रहरीले बरामद गरेको छ ।