काठमाडौँ । धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरण (बैंकिङ कसुर)मा मुछिएका १० बैंकरमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) दोस्रो चरणको अनुसन्धान सुरु भएको छ ।
सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले राष्ट्र बैंककै विज्ञ टोलीबाट उक्त आरोप लागेका १० बैंकरको सम्बन्धमा पहिलो चरणको अनुसन्धान सकेर दोस्रो चरणको अनुसन्धान थालिएको जानकारी दिनुभयो ।
तत्कालिन सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंकमा गाभिएको)ले मिलेमतोमा धितो भन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा परेको उजुरीमाथि अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ ।
उक्त आरोपमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहितका १० बैंकरलाई हाजिरी जमानीमा छाडेको सिआइबीले पहिलो चरणको अनुसन्धान सकेर दोस्रो चरणमा प्रवेश गरेको जनाइएको छ ।
बोगटीले भन्नुभयो, “व्यवहारिक रुपमा कानुनले दिएको अधिकार प्रयोग गरेर अहिले उहाँहरुलाई दैनिक हाजिरी जमानीमा छाडेका छौँ, आजदेखि विहान १० बजे आउनुहुन्छ, साँझ ५ बजे जानुहुन्छ, तर अनुसन्धान टुंगिएको पनि होइन, निर्दोष भएर छाडेको पनि होइन ।
अनुसन्धान लामो हुने भएकाले थुना बाहिर राखेर अनुसन्धान गर्ने अधिकार अनुसन्धान अधिकारीलाई छ, सोही अनुसार गरिएको हो ।”
उहाँले भाग्ने र प्रमाण नष्ट गर्न सक्ने अवस्था नदेखिएकाले र पहिलो चरणको अनुसन्धान समेत सकिएकाले हाजिरी जमानीमा छाडिएको जानकारी दिनुभयो । सीआईबीले हिजो उहाँहरुलाई ती बैंकरका परिवार र बैंकका प्रतिनिधिको रोहबरमा छाडेको थियो ।
ब्यूरोले फागुन १५ गते पक्राउ गरेका बैंकरलाई १७ दिन हिरासतमा राखेर प्रारम्भिक अनुसन्धान गरेको थियो । फागुन २९ गते थप पाँच दिन हिरासतमा राख्न ब्यूरोले अदालतबाट अनुमति पाएको थियो ।
प्राप्त सूचना अनुसार उनीहरुलाई छाड्न चर्काे दवाव परेपछि छाडिएको हो । अन्य बैंकरहरुले समेत उनीहरुको रिहाइका लागि चर्काे दबाब दिएका थिए ।