काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडाहरु धमाधम बालश्रम मुक्त भइरहेको छ ।
बालमैत्री नगर निर्माणमा अघि बढिरहेको नगरपालिकाले विभिन्न ४ वटा वडालाई बालश्रम मुक्त घोषणा गरिसकेको छ भने निकट भविश्यमा अन्य दुई वडालाई पनि घोषणा गर्ने तयारी गरिएको छ ।
पछिल्लो समयमा वडा नम्बर ५ लाई हिजो बुधबार बालश्रम मुक्त घोषणा गरिएको छ । उक्त वडामा रहेका पाँच जना बालबालिका मध्य ४ जनालाई परिवारमा मिलान गराइएको र एक जनालाई श्रममुक्त बनाएर घोषणा गरिएको बाल विकास समाजका सिनियर फिल्ड अधिकृत दीपेन्द्र पराजुलीले जानकारी दिनुभयो ।
वडा नम्बर ५ का अध्यक्ष राजेन्द्र महर्जनले यसलाई कारर्यान्वयनमा विशेष ध्यान दिँदै मालमैत्री वडा बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
यसअघि वडानम्बर १४, वडानम्बर ३ र वडानम्बर ८ लााई बालश्रम मुक्त घोषणा गरिसकिएको छ । नगरपालिकामा १५ वडा रहेको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरिले बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पुरा गरी वडाहरुलाई बालश्रम मुक्त बनाउँदै लगिएको जानकारी दिनुभयो ।
गिरीका अनुसार आगामी २०८१ सालको चैतसम्ममा उक्त घोषणा भइसक्ने छ । जुन नेपालकै बालश्रम मुक्त स्थानीय तहको सातौँ नम्बरमा चन्द्रागिरि आउने छ । अहिलेसम्म ६ वटा स्थानीय तह बालश्रम मुक्त भइसकेको छन् ।
बालश्रम मुक्त बनाउन बाल विकास समाज र वल्ड भिजन इन्टरनेसनल नेपालले सचेतनामूलक कार्यक्रम तथा तालिम प्रदान गरिरहेको समाजका सिनियर फिल्ड अधिकृत दीपेन्द्र पराजुलीले बताउनुभयो ।
बुधबारको कार्यक्रममा यसरी सहयोग उपलब्ध गराइएकोमा उच्च मूल्यांकन गर्दै वडाले उक्त दुबै संस्थालाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ । यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचकहरू पूरा गर्नुपर्ने जनाइएको छ ।
https://www.facebook.com/samriddhisanchar/videos/295156760064099