काठमाडौँ । काठमाडौँको सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरि नगरपालिकाका विभिन्न वडाहरु अहिले धमाधक बालश्रम मुक्त हुँदैछ । आजमात्रै वडा नम्बर ८ लाई बालश्रममुक्त वडा घोषणा गरिएको छ ।
आज एक विशेष समारोहका बीच उक्त वडा बालश्रम मुक्त भएको घोषणा गरिएको हो ।
चन्द्रागिरि ८ मा एक जना मात्रै स्कुल बिदा भएका बेलामा पार्ट टाइमका रुपमा बालश्रम गरेको फेला परेको पाइएकाले उनलाई बालश्रमबाट हटाएर बालश्रममुक्त वडा घोषणा गरिएको वडाध्यक्ष प्रल्हाद रिजालले जानकारी दिनुभयो ।
उक्त नगरपालिकाका १५ वडामध्ये अहिलेसम्म चन्द्रागिरि ३ र १४ भने बालश्रम मुक्त भइसकेको छ । यो तेस्रो बालश्रम मुक्त वडा भएको छ ।
बालश्रम मुक्त घोषणाको पूर्वसन्ध्यामा आज उक्त वडामा बाजा तथा प्लेकार्टसहित स्थानीयले र्याली निकालेका थिए ।
घोषणा समारोहमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले समग्र नगरपालिकालाई नै बालश्रम मुक्त घोषणा गर्ने अभियान जारी रहेको बताउनुभयो । उहाँले आगामी २०८१ सालको चैतसम्ममा उक्त घोषणा भइसक्ने जानकारी दिनुभयो । बालमैत्री नगर बनाउन नगरपालिका प्राथमिकताका साथ लागेको उहाँले बताउनुभयो ।
यस्तै चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले घोषणा हुनु महत्वपूर्ण भएको बताउँदै यसलाई नियमित कार्यान्वयनतर्फ लैजान सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
बालश्रम मुक्त बनाउन बाल विकास समाज र वल्ड भिजन इन्टरनेसनल नेपालले सचेतनामूलक कार्यक्रम तथा तालिम प्रदान गरिरहेको समाजका सिनियर फिल्ड अधिकृत दीपेन्द्र पराजुलीले जानकारी दिनुभयो ।
बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ। यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचकहरू पूरा गर्नुपर्ने हुन्छ ।