काठमाडौँ : गत जनवरी १, २०२४ मा जापानको तटीय नोटो क्षेत्रमा गएको भूकम्पका प्रभावितहरुका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले महत्वपूर्ण सन्देश दिने गरी आर्थिक तथा चित्र सहयोग गरेको छ ।
शक्तिशाली भूकम्पको कारणले भएको जनधनको क्षतिले विक्षिप्त त्यहाँका जनतालाई नगरपालिकाले हृदयबाट सहानुभूति प्रकट गर्दै सहानूभूतिस्वरुप आर्थिक र चित्र सहयोग गरेको हो।
‘परिमाणमा थोरै भए पनि यो अभियान पीडामा हामी साथ छौँ भन्ने सन्देश हो र यसलाई स्विकार्न हृदयबाट नै अनुरोध गरिएको हो, नगर प्रमुख तीर्थराज भट्टराईले भन्नुभयो ।
‘हालै जापानमा भएको प्रकृतिक विपत्ति र त्यसले निम्त्याएको क्षति हामीलाई प्रत्यक्ष महसुस भइरहेको छ। यो विपद् हामी नगरवासी र सिंगो नेपालीको पनि पीडा हो भन्ने बोध गरेका छौँ’, नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘यस विपद्को घडीमा सानो सहयोगको अभियान स्वरुप त्यहाँका नागरिक तथा विद्यार्थीलाई सहयोग पुगोस् भन्ने हेतुले नोटो प्रीफेक्चर शैक्षिक बोर्ड, NOTO Peninsula, Japan का माध्यमबाट हाम्रो नगरपालिकाले २५ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग र यहाँका विभिन्न विद्यलयका विद्यार्थीहरुले बनाएका १९ थान चित्रकलाहरु विपद् व्यवस्थापनमा सहयोग पठाइएको जानकारी गराउन चाहन्छौँ।’

त्यहाँ हुने चित्रकला प्रदर्शनीमा यी चित्रहरुको बिक्रीबाट संकलन भएको धेरथोर रकम भूकम्प पीडित समुदायमा समर्पण गर्न चाहेको नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।
‘परिमाणमा थोरै भए पनि यो अभियान पीडामा हामी साथ छौँ भन्ने सन्देश हो र यसलाई स्विकार्न हृदयबाट नै अनुरोध गरिएको हो, नगर प्रमुख तीर्थराज भट्टराईले भन्नुभयो ।
नेपाल र जापानको मित्रवत कुटनीतिक सम्बन्ध र नेपाललाई विगतदेखि जापानले दुःख–सुखमा साथ दिँदै आएको असल मित्र रहेको स्मरण गर्दै जापानमा गएको भूकम्पले निम्त्याएको दुःखमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका साथ रहेको उल्लेख गरिएको छ ।
‘वास्तवमा भूकम्प जस्तो विपत्ति आकस्मिक र प्राकृतिक हुन्छ । भूकम्पले जहिले पनि जनधनको क्षति र कुनै पनि ठाउँमा कुनै पनि बेला आउन सक्छ भन्ने कुरामा हामी जानकार छौँ । त्यहाँ गएको शक्तिशाली भूकम्प र त्यसले निम्त्याएको मानवीय तथा प्राकृतिक क्षतिले हाम्रो मन रोएको छ। भौतिक रुपमा टाढा भएकोले चाहेर पनि यो विपद्को घडीमा मानवीय सेवामा तत्कालै जुट्न नसकेको अनुभूति भएको छ’ नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

नगरपालिकाले हाम्रो नेपालमा पनि रुकुम जाजरकोटमा केही महिना अगाडि गएको भूकम्प र त्यसले पुर्याएको क्षतिको पीडा अहिलेसम्म पनि ताजै रहेको स्मरण गराएको छ ।
नगरपालिकाले खोटाङमा यही असोज १७ देखि २१ सम्म १४ देशका ४३ जनाभन्दा बढी चित्रकारहरुको सहभागीतामा ‘मुन्दुमः अन्तरराष्ट्रिय चित्रकला कार्यशाला र काठमाडौँमा यही फागुन ५ देखि १७ गतेसम्म ५३ देशका २१३ चित्रसहितको अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी २०८० सम्पन्न गरेका र यही सन्दर्भले नगरपालिकालाई जापानसँग अझ प्रत्यक्ष जोडेको जनाएको छ ।
उक्त चित्रकला कार्यशाला र अन्तरराष्ट्रिय प्रदर्शनीमा जापानबाट चित्रकार तथा वैज्ञानिक नाओको हरदा प्रत्यक्ष संलग्न हुनुहुन्थ्यो ।
सोही कार्यक्रमको प्रभाव स्वरुप नगरपालिका भित्र रहेका विद्यालयका चित्रकलामा अभिरुची राख्ने विद्यार्थीहरुमार्फत सिर्जना गरिएका चित्रकला र नगरपालिकाको सानो आर्थिक सहयोगमार्फत जापानमा गत जनवरीमा गएको भूकम्पले निम्त्याएको क्षतिमा योगदान गर्ने अवसर प्राप्त गरेकोमा अनुग्रिहित भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले दुःख सुखमा सँधै साथ रहने प्रतिबद्धता व्यक्त गरेको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।
